टसमस भएनन् ओली दाहाल, के हुन्छ एकता ?


ओकेजनता डेस्क
१९ मंसिर २०७७, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन् । दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ ।

दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरूले घचघच्याइरहेका छन् ।

सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन् ।

नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन्। ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमतरअल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन् ।

दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए।

तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्