तराई मधेसमा जितिया मनाइँदै


ओकेजनता डेस्क
२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । कठोर व्रतकोे रुपमा परिचित तराई–मधेसको महान पर्व जितिया आज मनाइँदैछ । मौलिक र बहुआयामिक विशेषता रहेको यो पर्व विशेष गरी महिलाहरुले आफ्नो सन्तानको दिर्घायु र सुख शान्ति प्राप्तिका लागि मनाउने गदर्छन् ।

विवाहित हिन्दू नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र दीर्घायुको कामना गरी मनाइने जितिया पर्व तराईवासीको महत्वपूर्ण पर्वमध्ये एक हो । छठजस्तै कठोेर पर्वको रुपमा जितियालाई पनि तराईबासीले श्रद्धा र भक्तिभावका साथ मनाउने गर्दछन् ।

खास गरी यो पर्व मिथिलाञ्चल र थारु समूदायका विवाहित महिला, त्यसमा पनि आमाहरुले मनाउने गर्दछन् । जितियाको पहिलो दिन श्रद्वालु महिलाहरुले बिहानै उठेर घर सफासुग्घर पारी नदी, पोखरीमा स्नान गरी घिरांैलाको पातमा पिना, तेल, सिन्दुरलगायतका सामग्री सूर्यपुत्र शालिबाहनका छोरा जितमहान भगवानलाई चढाइन्छ ।

जसलाई नहाइ–खाय भन्ने गरिन्छ । सप्तमीको दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई माछ मरुवा पनि भनिन्छ । पर्वको पहिलो दिन नै राति ‘ओटघन’ गरिन्छ । ओटघन भनेको चिउरा, दही, केरा, अमोट खानु हो । दोस्रो दिन बिहीबार निराहार व्रत र तेस्रो दिन ब्रत पारण गरिन्छ । तराई, मिथिला, भारतको बिहार र उत्तर प्रदेशको केही ठाउँमा व्रत श्रद्धापूर्वक बस्ने चलन छ ।

सन्तानको मंगलकामना र दीर्घायूका लागि महिलाहरु ब्रत बस्छन् । आश्विन कृष्णपक्ष अष्टमीमा ब्रत बसिन्छ । ओटघन खानाले आयु बढ्ने विश्वास छ । ओटघनपछि मूलगेटमा बसेर पानी पिउँदै भन्नुपर्छ, ‘हे ओटघन महाराज ओटघनिया रखिह ।’ त्यस्तै, ब्रतको अर्को दिन ‘खर जितिया’ मनाइन्छ । यो पर्व र व्रतको मुख्य दिन पनि हो । व्रतालुले थुकसमेत ननिली २४ घण्टा निराहार उपबास बस्छन् । जितमहानको पूजामा धुप, दीप, चामल, फूल, चन्दन प्रयोग गरिन्छ । माटो अथवा गाईको गोबरले चिल वा स्यालको प्रतिमा बनाइन्छ र प्रतिमाको टाउकोमा रातो सिन्दुरको टीका लगाइन्छ ।

पूजा समाप्त भएपछि जिवित पुत्रीका व्रतकथा सुन्नुपर्छ । यसो गर्दा पुत्र भएको महिलाको पुत्रको लामो आयु हुने र नभएकालाई पुत्र रत्न प्राप्ति भई सुख, समृद्धि हासिल हुने विश्वास छ । साथै कुनै दुर्घटना वा अनिष्ट हुनबाट पनि जोगाउँछ भन्ने विश्वास छ । जितियालाई जिउती व्रत पनि भन्ने गरिन्छ । पर्वको मुख्य काम डाली भर्नु हो । डाली भर्न काँक्रो, नरिवल, बाँसको पात, जियल पात, सरिफाको पात, आखकर, जनै, सुपारी डालीमा राखिन्छ । व्रतको तेस्रो दिन ब्राह्मणलाई दान गरेपछि खाने चलन छ । व्रत पारण गर्दा भात, नैनीको साग र कोदोको रोटीलाई पहिले खाने चलन छ । यस अवसरमा तराईको विभिन्न स्थानमा जितमहान भगवानको माटोको प्रतिमा बनाई पूजा गर्ने चलन समेत रहेको छ । ब्रतालुहरुले जितमहान भगवानको मेला समेत भर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्