‘म माथि लागेका आरोपको छिनोफानो होस्’


ओकेजनता डेस्क
४ मंसिर २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रक्रिया अगाडि बढाउन सम्भव नरहेको बताएका छन् ।

ओलीले बुधबारको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने बताएको उपप्रधानमन्त्री तथा पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत सचिवालय बैठकको सार सार्वजनिक गर्दै पोखरेलले यस्तो जानकारी दिएका छन् ।

पोखरेलका अनुसार सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोपहरु अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गरेका थिए ।

पोखरलेले लेखेका छन, ‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ उहाँले।’

‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ’, पोखरेलले अगाडि लेखेका छन् ।

उनले प्रधानमन्त्रीबाट व्यक्त भएको यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझ्न र त्यसै अनुसार आफूलाई तयार पार्न आह्वान पनि गरेका छन् ।

गत शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई राष्ट्रघाति र भ्रष्टाचारीको संरक्षकसहितका दर्जनौँ गम्भीर आरोप लगाउँदै उनले अब निकासका लागि त्याग गर्नुपर्ने मागसहितको प्रतिवेदन पेश गरेका थिए ।

ओलीले आज (बुधबार) बसेको बैठकमा ती आरोपहरुको छिनोफानो नभएसम्म एकता प्रक्रिया अघि बढ्न सम्भव नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्