‘ट्रम्पलाई अलिकति लाज हुनुपर्ने’


ओकेजनता डेस्क
२६ कार्तिक २०७७, बुधबार

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको बताएका छन् ।

विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।

तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् ।

हरेक चार वर्षमा हुने चुनावमा अमेरिकी सञ्चारमाध्यमले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी हुने उम्मेदवारको नाम घोषणा गर्छन् ।

तर नतिजा स्वीकृत हुन समय लाग्छ । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन् ।

मंगलबार पत्रकारले पराजय स्वीकार गर्न ट्रम्पले गरेको अस्वीकार बारे प्रश्न गरेका थिए । त्यसको जवाफमा बाइडेनले भने, ‘मलाई लाग्छ यो लाजको कुरा हो, स्पष्ट रुपमा भन्दा ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’ उनले जनवरी २० को शपथको दिनलाई लक्षित गरि अन्ततः राम्रो दिन आउने उल्लेख गरे ।

सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, आइरिस प्रधानमन्त्री माइकल मार्टिन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ तथा जर्मन चान्सलर एंगेला मार्केलसहितसँग कुराकानी गरेका छन् ।

बाइडेनले ती संवादबारे भने, ‘मैले उनीहरुलाई अमेरिका पुनः फर्किएको जानकारी गराएको छु । हामी विश्व मञ्चमा फर्किँदै छौँ ।’

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरेका छन् । तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन । बाइडेनले भने कुनै पनि कुराले आफूहरुलाई कमजोर वा सुस्त नबनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्