ओलीको नयाँ चालले प्रचण्डलाई थप पीडा !


ओकेजनता डेस्क
२४ कार्तिक २०७७, सोमबार

काठमाडौं । लामो समयदेखि विवादमा फस्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको चालले अर्को तरंग सिर्जना गर्ने देखिएको छ । पार्टी सञ्चालनका निम्ति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिइएपनि उक्त जिम्मेवारी बहन नभएको भन्दै ओली महाधिवेशनको तयारी आफै गर्ने गरी अगाडि सरेका छन् ।

नेकपाका केही नेताका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो जिम्मेवारी अनुसार महाधिवेशन कार्ययोजना बनाएर गत महिना नै पार्टीमा पेश गरिसक्नुपर्ने थियो । चैतमा महाधिवेशन गर्ने गरी स्थायी कमिटीले निर्णय गरिसकेपनि महाधिवेशनका आधारभूत तयारी नहुँदा ओली आफै सक्रिय भएको नेकपा स्रोत बताउँछ ।

भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रचण्डले माग गरेअनुसार थप प्रष्टताका साथ कार्यकारीको जिम्मेवारी सुम्पिएको थियो । स्थायी कमिटीको बैठकको निर्णय अनुसार १० दिनभित्र महाधिवेशन कार्ययोजना बनाएर सचिवालय बैठकमा पेश गरिसक्नुपर्ने थियो । तर, प्रचण्डले त्यो काममा ढिलाइ गरेको नेकपा नेताको भनाइ छ ।

यता, प्रचण्डबाट काम नभएको भन्दै प्रधानमन्त्री ओलीले चैत २५ देखि ३० गतेसम्म हुने भनिएको महाधिवेशनको तयारीको जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई सुम्पिएका छन् ।

नेकपाका एक नेताका अनुसार कात्तिक १५–१७ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले महाधिवेशन कार्ययोजना प्रस्तुत गर्नुपर्ने थियो । न बैठक बसेको छ न प्रचण्डले कार्ययोजनाको तयारी गरेका छन् ।

बेलाबखत विभिन्न झमेलामा फस्दै आएको नेकपाको विवाद महाधिवेशनको तयारीलाई लिएर झन उत्कर्षमा जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्