प्रहरी हत्याका नाइके सुकबहादुर खोई ?


ओकेजनता डेस्क
२३ कार्तिक २०७७, आईतवार

काठमाडौं । धनगढीमा दुई प्रहरी हत्याको घट्नामा जोडिएका अन्तिम व्यक्तिको खोजीमा प्रहरीले ‘सर्च अप्रेशन’ तीब्र पारेको छ ।

ती व्यक्तिको खोजीमा प्रहरीले संभावित सबै ठाउँमा छापा समेत मारिसकेको छ ।

दुई प्रहरीको हत्यामा जोडिएको अन्तिम व्यक्ति धनगढी उपमहानगरपालिका–१० चकमलीका करीब ३५ वर्षीय सुकबहादुर राना हुन् । उनी यो घटनाका नाईकेका रुपमा समेत चिनिन्छन् ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउँदको गस्तीमा गएको बेला कार्तिक १ गते राति साढे १० बजे हत्या भएको थियो ।

असई बिकको शव घट्ना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो । त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव मोहना नदीमै फेला परेको थियो ।

प्रहरीले उक्त घट्नामा संलग्न भएको आरोपमा उपमहानगरपालिका–१० का सात जना र धनगढी उपमहानगरपालिका– ५ शिवनगरबाट मटरको कारोवार गर्ने राजिव गुप्ता समेत आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले शुरुदेखि नै खोजी गरिरहेका सुक बहादुर राना भने घट्ना भएकै राति देखि फरार छन् ।
प्रहरीले सुक बहादुरको खोजीमा कैलाली र कञ्चनपुरका थुप्रै स्थानमा छापा मारिसकेको छ ।

उनी लुकेको स्थानका बारेमा सुईको पाएपछि प्रहरीले थुप्रै स्थानमा छापा मारेको थियो । तर उनी अहिलेसम्म उम्किन सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जवराले रानाको खोजी भइरहेको बताए ।

राना भागेर भारत पसेको अनुमान गरिएको छ । प्रहरीले ईण्टरपोलको सहयोगमा भारतबाट पक्राउ गरेर रानालाई ल्याउने कोसिस गरिरहेको प्रहरी स्रोत बतायो ।

को हुन सुकबहादुर राना ?
धनगढी उपमहानगरपालिका–१० चकमलीका स्थायी बासिन्दा सुकबहादुर राना हुन् । तर उनले २०१८ सम्म अमर रानाका नामबाट फेसबुक चलाएको पाइएको छ । उनको आफ्नो नाममा फेसबुक आईडी छैन ।

उनी लामो समयदेखि भारतको बनकट्टी र सलियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अबैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी स्रोतले बतायो ।

भारतमा जे कुराको माग छ । उनले स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउथेँ । चकमलीमा उनको गोदाम छ । भारत पठाउने सामान गोदाममा जम्मा गर्थे । र त्यहाँबाट रातिको समयमा भारत पठाउथेँ । स्रोतले भन्यो, देशमा नाकाबन्दी हुँदा होस् वा लकडाउन हुँदा होस् उनको यो अबैध धन्दामा कहिल्यै असर परेन । किनकी उनी सीमामा प्रहरीसँग लाईन मिलाएर निर्बाध रुपमा अबैध धन्दा गरिरहे ।

पछिल्लो पटक उनले मटर (केराउ)को तस्करीमा हात हाले । जसमा उनका साझेदार राजिब गुप्ता थिए । उनले राजिव गुप्ताकहाँबाट मटर लगेर गोदाममा जम्मा गरेका थिए । त्यही मटर कात्तिक १ गते राति उनी भारत पुर्याउँदै थिए । यस कुराको जानकारी पाएर प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँद चकमल पुगेका थिए ।

धनगढी उपमहानगरपालिका–१० राना बस्तीको अन्तिम गाउँ हो, चकमली । मोहना नदी नजिकै रहेको यही बस्तीबाट मोहना नदी भएर भारतीय गाउँ सलियापार र बनकट्टी अबैध सामान तस्करी हुने गरेको स्रोतले बतायो ।

स्रोत भन्छ्, धनगढी उपमहानगरपालिका–१२ जुगेडा प्रहरी चौकीमा ईञ्चार्ज तथा सरुवा भएर आउने हरेक प्रहरीलाई रानाका बारेमा जानकारी थियो । उनले सबैलाई मिलाएर अबैध धन्दा गर्दै आएका थिए ।

लाईन र रकमको विषयमा कुरा नमिल्दा प्रहरी ईञ्चार्ज बिक र जवानको हत्या गरिएको पक्राउ परेकाहरुले बयानका क्रममा बताएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्