पूर्व प्रधान सेनापति कटवालद्वारा नरवणे भ्रमणको पर्दाफास


ओकेजनता डेस्क
२२ कार्तिक २०७७, शनिबार

काठमाडौं । पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवालले भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणबारे बोलेका छन् । नरवणेको भ्रमण आइस ब्रेक होस भन्दै कटवालले भ्रमणको बचाउ समेत गरेका छन् ।

२००७ सालदेखि प्रचलनमा आएको मानार्थ महारथी उपाधि दुई देशबीचको सम्बन्ध सुधारको कडी रहेको कटवालको भनाइ छ । भ्रमणलाई कुन रुपमा हेरिन्छ त्यसले निर्धारण गर्ने कटवालले बताए ।

भारतीय सेना नेपाली भूमिमा रहेका बेला त्यहाँका सेना प्रमुखलाई मानार्थ महारथी उपाधि दिनु गलत भएको आवाज उठिरहेका बेला कटवालले यो विश्वकै प्रचलन भएको बताए । हरेक मुलुकमा छिमेकीसँग कुनै न कुनै रुपमा समस्या हुन्छ तर दुई देशको सम्बन्धलाई सुधार्ने प्रयास पनि भएका हुन्छन् ।

कटवाले भने– ‘भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण दुई देशबीचको सीमा विवाद समाधानको मुख्य कडी बन्नेमा विश्वस्त छुँ । भारतीय प्रधानमन्त्रीको दूतका रुपमा आएका नरवणेले त्यहाँको सरकारलाई नेपालको सुझाव र गुनासा सुनाउनेछन् ।’

कटवालले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको प्रति भने चिन्ता व्यक्त गरेका छन् । ‘हिजोका नेपाली र अहिलेका नेपालीमा धेरै फरक भएको छ । हरेक ठाउँमा राजनीतिक गन्ध छ । यसले मुलुकको हीत गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्