ओली–प्रचण्डकै विकल्प खोज्ने की ?


ओकेजनता डेस्क
२१ कार्तिक २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बल्झिएको विवाद सतहमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा लगातार धाइरहने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला थाकेका छन् ।

लगातार प्रधानमन्त्री ओली कहाँ धाइरहँदा पनि सहमतिको बिन्दुमा नपुग्ने छाँट देखिएपछि प्रचण्डले ओलीको विश्वास गर्न छाडेका हुन् । यसअघि भदौ २६ गते भएको स्थायी कमिटीका निर्णय कार्यान्वयन नगरेका प्रधानमन्त्री ओलीप्रति विश्वास गुम्दै गएपछि प्रचण्ड पार्टीका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

पार्टी फुटको संहारमा पुगिसक्दा पनि जोगाउने प्रयत्न नभएको भन्दै नेकपाका तल्लो तहका नेताहरु प्रचण्ड र ओलीको विकल्प खोजिरहेका छन् । पार्टी नेतृत्व र निर्णयको सम्पूर्ण जिम्मा अध्यक्षद्वयलाई दिँदा पनि पद र सत्ताको लुछाँचुँडी भएपछि युवापुस्ताका नेताहरु सक्रिय भएका हुन् ।

यतिबेला अमेरिकामा भइरहेको निर्वाचनको उदाहरण दिँदै नेकपाका युवापुस्ताका नेताहरुले देशको राजनीति देख्दा दिक्क लागेको बताएका छन् । एक नेताका अनुसार सरकार बनिसकेपछि उसले गर्ने क्रियाकलापमा कसैले हस्तक्षेप गर्नु हुँदैन । बिगारेको ठाउँमा सुझाव दिनु स्वभाविक भएपनि पूरै हस्तक्षेप गर्नु हुँदैन ।

सरकारले पनि जनताको हीत र पार्टीको विधि, पद्धतीमा चल्नुपर्ने नेकपाका नेताहरु बताउँछन् । लामो समयको इतिहास बोकेको नेकपाको अहिलेको क्रियाकलापप्रति जनतामा निराशा छाएको छ ।

बामदेव र बादल फकाउन शीतलनिवास
राष्ट्रपति विद्यादेवी भण्डारीको बोलावटमा मंगलबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम शीतलनिवास पुगे ।

भोलिपल्ट, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि शीतलनिवास बोलाइयो । बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरे ।

प्रधानमन्त्री ओलीको खेमालाई पार्टीभित्र अप्ठ्यारो पर्दा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले विगतमा पनि नेकपाका शीर्षनेताहरुलाई कहिले बेग्लाबेग्लै त कहिले सामुहिकरुपमा बोलाएर सम्झाउने गरेकी थिइन् ।

यसपटक पनि उनले दुईजना सचिवालय सदस्यहरुलाई एक्लाएक्लै बोलाएर ओलीको पक्षमा बहुमत जुटाउने लबिङ गरिन् ।

तर, यसपटक ‘शीतलनिवास कार्ड’ त्यति प्रभावकारी देखिएन ।

प्रतिक्रिया दिनुहोस्