नेकपाका बुढ्यौली नेता चिन्तामा


ओकेजनता डेस्क
२० कार्तिक २०७७, बिहीबार

काठमाडौं । नेकपा फुट्छ, फुट्यो, यो जुटेकै होइन भन्ने शब्दावली नयाँ होइनन् । मुलुकको ठूलो दलका पछाडि यस्ता अड्कलबाजी सामान्य नै हुन् । ७० वर्षअघि देखिको इतिहास जोडिएर आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अबको बाटो भने जटिल बन्दै गएको छ ।

असारको दोस्रो साता फुटको नजिक पुगेको नेकपाका लागि भदौ २६ गते बसेको स्थायी कमिटी बैठक महत्वपूर्ण बन्यो । बैठकमा भएका निर्णयहरु मान्नेगरी सहमति भयो । सबैले पार्टी विधि, पद्धती र सिद्धान्तका आधारमा अगाडि बढाउने गरी हस्ताक्षर गरे ।

त्यो निर्णय क्षणभरमै तुहियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति र मन्त्रिमण्डल बिस्तारमा आफ्नो पुरानै पारा देखाए । मन्त्रिमण्डल बिस्तारका लागि दुई अध्यक्षबीच पर्याप्त छलफल भइरहेको समाचार आएका बेला प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तार गरे र अर्का अध्यक्ष पुष्पकमल दाहाल रिसाए ।

अहिले पनि यसरी नै पार्टी अगाडि बढिरहेको छ । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा समस्या सिर्जना भएको छ । नेकपामा अर्को विषय पार्टीको वैचारिक पक्ष अन्योल प्रायः छ । जनताको बहुदलीय जनवाद की जनताको जनवाद भन्नेमै दुई अध्यक्षबीच मतभेद छ । नेकपाका केही नेताहरु भने यी दुवै सिद्धान्त त्यागेर समाजवाद उन्मुख राज्यको पक्षमा उभिएका छन् ।

जहिले पनि अस्थिर रहने नेपाली राजनीतिका लागि अहिले भइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचन उदाहरणीय बन्न सक्छ । अमेरिकामा निर्वाचन ताका तछाडमछाड हुन्छ, मुख छाडिन्छ तर निर्वाचनको मिति र विजयी उम्मेद्वार अर्थात् सरकारलाई सबै जनताको साथ रहन्छ ।

अहिले नेकपामा आएको विचलनका कारण नेपाली कम्युनिष्टको राजनीतिमा नै तुषारापात आउने बुढ्यौली नेताहरुको चिन्ता छ । विगत लामो समय राजनीतिमा होमिएर राष्ट्रको विकासमा समर्पित नेकपाका पाका नेताहरुलाई अहिलेको खिचडीले पेट बिगार्ने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्