नेकपा विवादमा ‘रअ’का प्रमुखको कति हिस्सा ?


ओकेजनता डेस्क
२० कार्तिक २०७७, बिहीबार

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएपछि नेपाली राजनीतिमा एकाएक तरंग सिर्जना भयो ।

रअ प्रमुख नै सीधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर निस्किए । भेटको आधिकारिक विषय बाहिरिएन ।

गोयल भेटेर गएको लगत्तै प्रधानमन्त्री ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेट भयो । नेकपाको विवाद समाधान र पार्टी विधि, पद्धतीका विषयमा छलफल गर्न भएको भेटमा प्रधानमन्त्री ओलीले दाहाललाई पार्टी फुटाउनै परे सहमतिमा फुटाऊ भन्दै जवाफ फर्काए ।

गोयलको भेटपछि प्रधानमन्त्री ओलीमा आएको परिवर्तन र साहसलाई पार्टीका विभिन्न खेमामा फरक–फरक बहस भइरहेको छ ।

नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार ‘भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको भेटपछि नेपाली राजनीतिमा पक्कै फरक आएको छ, भेटबारे प्रधानमन्त्रीले मुख खोलेका छैनन्, गोयल दूतका रुपमा आएको भए पहिलेदेखि नै तयारी हुन्थ्यो तर उनी सीधै आए भेटेर गए यो राष्ट्रिय हीत विपरित छ ।’

उनले थपे, ‘राज्यप्रणाली सञ्चालनको आफ्नै तरिका छ, यसरी प्रधानमन्त्रीजस्तो व्यक्तिलाई मनलाग्दी गर्ने छुट छैन । गोयल आउने विषयमा पार्टीमा कुनै छलफल थिएन ।’

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको भ्रमण पनि बेमौसमी भएको ती नेताले बताएका छन् । ‘नरवणे आउँछन्, राष्ट्रपतिबाट मानार्थ थाप्छन् जान्छन के आश गर्नु उनीबाट, उनले भने ।’

पछिल्लो समय सीमाका विषयमा छलफल गर्न पछि हटेको भारतले एकपछि अर्को सरकारी अधिकारीलाई नेपाल पठाउनु सीमाको मुद्धा ओझेलमा पार्नु रहेको नेकपाका केही नेताको ठहर छ ।

नेकपा विवादको अहिलेको मुख्य दोषी प्रधानमन्त्री ओली भएको बताउने ती स्थायी कमिटी सदस्यले भने, ‘नेकपा फुटाउने र जुटाउने जिम्मा ओलीको हो, ओलीले पार्टी जोगाउन बानी सुधार्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्