बाइडन जित नजिक, ट्रम्प अदालत जाने तयारीमा


ओकेजनता डेस्क
२० कार्तिक २०७७, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना बिहीबार पनि जारी छ ।

मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको मतदान सकिएको छ र जितका लागि निकै महत्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ ।

बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् ।

महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् ।

मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि संक्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।“ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए ।

उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानूनी चुनौती दिने बताएका छन् ।

तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति “अपमानजनक“ भएको भन्दै मतगणना नरोकिने जनाएको छ ।

ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ । मतगणनाको पूर्ण नतिजा नआउँदै र ट्रम्पले त्यहाँ जित्ने कुनै प्रक्षेपण नहुँदै उक्त समूहले पेन्सल्भेनियामा राष्ट्रपतिले जितेको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्