बडादशैँको छैठौँ दिन आज, कात्यायनी माताको पूजाआरधना


ओकेजनता डेस्क
५ कार्तिक २०७७, बुधबार

काठमाडौं । बडादशैँको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरि मनाइँदै छ ।

आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको हो ।

यसवर्ष कोरोना भाइरस (कोभिड १९) का कारण शक्तिपीठमा भक्तजनको उपस्थिति कम रहेको छ ।

आज उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ ।

त्यस्तै दाङको अम्बिकेश्वरी, सल्यानको खैरावाङ भगवती, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको बिन्दबासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाईलगायतका शक्ति पिठमा पनि फाटफुट भक्तजन देखिएका छन् ।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुस्माण्डा, पाँचौं दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

दशैँमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्