सात महिनापछि जुर्मुराउन थाल्यो पर्यटन


ओकेजनता डेस्क
३ कार्तिक २०७७, सोमबार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएको पर्यटन आगमन शनिबारबाट आंशिक रूपमा सहज भएको छ ।

सात महिनादेखि पर्यटन आगमन बन्द रहेपछि पर्यटन क्षेत्र नै ठप्प छ । सरकारले कात्तिक १ देखि पर्यटक आगमन आंशिक रूपमा खुला गरेसँगै सहज बन्दै गएको हो ।

अर्थतन्त्र चलयमान बनाउन र थलिएको पर्यटन उद्योगलाई लयमा फर्काउने प्रयाससहित सरकारले कोरोना महामारी बीचमा पनि विदेशी पर्यटक आगमन खुला गरेको जनाएको छ ।

हिमाल आरोहण र पदयात्राको लागि भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा कात्तिक १ देखि यात्रामा अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम शनिबारदेखि पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक भित्रिन थालेका छन् ।

तर, नेपाल आएका पर्यटक सात दिन होटेल क्वारेन्टाइन बसेपछि पीसीआर नेगेटिभ रिपोर्ट भएका पर्यटकमात्र पदमार्ग र हिमालको लागि जान पाउने छन् ।


हिमाल आरोहण, पदयात्राको लागि पर्यटन बोर्ड र पर्यटन विभागले सिफारिस गरेका पर्यटकलाई अध्ययागमन विभागले नेपाल प्रवेशका लागि भिसा जारी गर्नेछ ।

यसको आवश्यक सहजीकरण र समन्वयको जिम्मा विदेशस्थित नेपाली दूतावासले पनि गरिरहेका छन् । नेपाल सरकारले पदयात्रा र पर्वातारोहणका लागि नेपाल आउने विदेशी पर्यटकलाई यात्रा अनुमति दिने निर्णयबमोजिम भिसा जारी गरिएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए ।

पदयात्रा र हिमाल आरोहणको व्यवस्थापन सहजीकरण गर्न ट्राभल वा ट्रेकिङ एजेन्सीको आग्रहमा बोर्ड र विभागले गरेको सिफारिसको आधारमा विभागले भिसा जारी गर्ने छ । यसरी आएका पर्यटकलाई प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरको र पदयात्रा, आरोहणको लागि सहजीकरण गर्ने सहयोगीको १ लाख रूपैयाँको कोरोना बिमा अनिवार्य गरिएको छ ।

सरकारले कोरोनाभाइरस (कोभिड–१९)को रोकथामको लागि २०७६ चैत ९ गतदेखि वाह्य उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्