खुलेन दशैँ अग्रिम टिकट, व्यवसायी भन्छन् यात्रु छैन


ओकेजनता डेस्क
३ कार्तिक २०७७, सोमबार

काठमाडौं । कोरोना भाइरसका कारण यतिबेला मुलुक ठप्प छ । कोभिड–१९ को जोखिम बढेसँगै यो पटक दसैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । यात्रु कम भएको र अहिले चलिरहेकै सवारीले चाप धान्ने भएपछि अग्रिम बुकिङ खोल्न आवश्यक नदेखिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले लकडाउन भएको ६ महिनापछि कुल सिटमा आधा मात्र यात्रु बोक्न पाउने भन्दै असोज १ बाट लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । जसमा चलेको दरमा ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरिएको थियो ।

तर जहाजमा पूरै सिटमा यात्रु बोक्न दिएपछि यातायात व्यवसायीले यसको विरोध गर्दै आएका थिए । आफूहरूले पनि कुल सिट संख्यामै यात्रु राख्न पाउनुपर्ने उनीहरूको माग थियो । व्यवसायीकै मागअनुसार असोज २६ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै पूर्ण सिट क्षमतामा पुरानै भाडादरमा यातायात चलाउने निर्णय भएको महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘यसबारे सूचना निकालेर जानकारी दिइसकेका छौं,’ उनले भने, ‘शनिबारबाट यो नियम कार्यान्वयनमा आइसकेको छ ।’ दसैंलाई दृष्टिगत गरी यात्रुको बढी चाप हुने काठमाडौं उपत्यकाका नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशालालगायत १० ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘सवारी चलाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ,’ उनले भने, ‘यात्रु, चालक र सहचालकले अनिवार्य रूपमा भाइजर लगाउनुपर्नेछ, मास्क र सेनिटाइजरको प्रयोग पनि अनिवार्य गरिएको छ ।’ यस विषयको पालना भए, नभएको हेर्न विभागले अनुगमनलाई तीव्रता दिएको उनको दाबी छ ।

चाडपर्वको मुखमा यात्रु नभएर तनाव भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको गुनासो छ । ‘गाडी छन् । तर यात्रु छैनन्,’ उनले भने, ‘त्यसैले अग्रिम बुकिङ खोल्नु आवश्यक छैन ।’ व्यवसायीले चाडबाडका बेला सोच्दै नसोचेको समस्या भोग्नुपरेको उनले बताए । सार्वजनिक सवारीमा भीड हुने डरले पारिवारिक रूपमा गाडी रिजर्भ गरेर घर जाने यात्रु बढी छन् ।

जिप, टाटासुमो, माइक्रो, ट्याक्सी र स्कोर्पियो रिजर्भ गरेर जाने धेरै छन् । ‘यस्तो होला भनेर सोचेका पनि थिएनौं,’ उनले भने, ‘चाडबाडकै बेला बसपार्क सुनसान जस्तै छन् ।’

यति बेला सवारी जाँचमा कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ, छैन, अनिवार्य हेर्ने गरेका छौं,’ उनले भने, ‘उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरेका छौं ।’ विगतका वर्षमा घटस्थापनादेखि दैनिक ७५ हजारभन्दा बढी यात्रु बाहिरिन्थे । अहिले त्यो संख्या करिब २२ हजार मात्र रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्