रक्षा : रावल, गौतम र बादललाई शान्त पार्ने अस्त्र !


ओकेजनता डेस्क
२९ आश्विन २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल बिस्तार गरेसँगै नेकपामा तरंग पैदा भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पर्याप्त छलफलपछि मात्रै मन्त्रिमण्डल बिस्तार गर्ने भनिएपनि प्रचण्ड निकट स्रोतले बुधबारको मन्त्रिमण्डल बिस्तार एकलौटी भएको जनाएको छ ।

रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी झिकिएपछि अर्को संसय पैदा गरेको छ । प्रधानमन्त्री ओलीले किन रक्षा आफूसँग राखे भन्नेमा विभिन्न बहस सुरु भएका छन् । विभिन्न उपाय अपनाएर भएपनि नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउने प्रधानमन्त्री ओलीको आश्वासन पनि अहिलेका लागि टरेको छ ।

बामदेवविरुद्ध सर्वोच्चमा परेको रिट दशैँपछिसम्मका लागि धकेलिएको छ । बामदेव गौतमलाई मन्त्रीको ललिपप चुसाएर आफू निकट ल्याउन सफल प्रधानमन्त्री ओलीले रक्षा आफूसँग राखेपछि केही समयका लागि पार्टीमा आउने तरंग मत्थर हुने अनुमान गरिएको छ । कि बामदेव नभए उनकी धर्मपत्नी तुलसा थापा गौतमलाई मन्त्री बनाउने यसअघिका हल्ला पनि मन्त्रिमण्डल बिस्तारसँगै सेलाएका छन् ।

प्रधानमन्त्री ओली सरकारका काम कारबाहीमा खरो रुपमा अब्जेक्सन देखाइरहने नेकपाका अर्का प्रभावशाली नेता भीम रावलको पनि मन्त्रिमण्डलमा समावेश हुने हल्ला चलाइएको थियो । यद्यपि भीम रावलले मन्त्री पद नखाने बताउँदै आएका थिए । अहिले रावललाई पनि तिहारपछि सरकारमा समावेश गर्ने गरी केही मत्थर बन्न प्रधानमन्त्रीले बताएको नेकपाका एक नेताको भनाइ छ । रावल यसअघि उपप्रधानमन्त्री भइसकेकाले वरियताका आधारमा उनलाई रक्षा वा गृह वा सो सरह दिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि च्यापेको देखिन्छ । बादललाई जसरी भएपनि सरकारमा टिकाइराख्ने प्रधानमन्त्री ओलीको आकांक्षा रहेको नेकपा स्रोत बताउँछ । मन्त्रालयमा केही हेरफेर गरेर भएपनि बादललाई टिकाउने र रक्षा तीनै जनालाई शान्त पार्ने अस्त्र हुनसक्ने आंकलन गर्ने नेकपाका धेरै नेताहरु छन् ।

तिहारपछि भने मन्त्रिमण्डलको सेट नै परिवर्तन हुने तर्फ प्रधानमन्त्रीले संकेत गरेका छन् । सरकार स्थापनाकालदेखिका मन्त्रीलाई हटाएर नयाँलाई पालो दिनेगरी प्रधानमन्त्रीले गृहकार्य गरिरहेको बताइन्छ । अहिले मन्त्रीको चर्चामा रहेका नेताहरुलाई तिहारपछि समेट्ने प्रधानमन्त्रीको योजना छ ।

प्रचण्डको असहमतिले पार्टीमा के हुन्छ ?


बुधबार बिस्तार गरिएको मन्त्रिमण्डलमा मेरो सहमति नभएको प्रचण्डले बताएपछि नेकपाभित्र संकटको घण्टी बजेको छ । लगातार बालुवाटार धाएर आफू अनुकुल मन्त्रिमण्डल बिस्तार नभएपछि प्रचण्डको ओलीप्रति विश्वास गुमेको उनी खेमाका नेताहरु बताउँछन् । प्रचण्डले भने आफै आधिकारिक रुपमा कुनै भनाइ सार्वजनिक गरेका छैनन् ।

पार्टीलाई विधि, पद्धती र सिद्धान्तमा अगाडि बढाउने सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले लत्याउँदै गएको नेकपाका एक नेताले बताए । प्रधानमन्त्रीले आफूनिकट तीन मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्मा उनकै वर्चस्व कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्