आयो प्रचण्डको एक्सन, अब यस्तो हुनसक्छ !


ओकेजनता डेस्क
२९ आश्विन २०७७, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा आफ्नो खेमाका मन्त्रीहरु नियुक्त गरेपछि नेकपामा तरंग पैदा भएको छ ।

पछिल्ला नजीरहरु हेर्दा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पेलेर पार्टी हाँक्न खोजेको आंकलन गरिन थालेको छ ।

अध्यक्ष प्रचण्डले पार्टी विधि, सिद्धान्त र छलफलका आधारमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ लगातार बालुवाटार धाएको देखिन्छ ।

बालुवाटारमा दुई अध्यक्षबीच छलफल र बहस भएको पनि पाइन्छ तर, नतिजा भने अप्रत्यासित देखिन थालेको छ ।

बुधबार भएको मन्त्रिमण्डल गठनमा प्रचण्डको सहमति नरहेको उनी निकट नेताहरुको भनाइ छ । मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमति भएपनि कसलाई मन्त्री बनाउने भन्ने पक्षमा सहमति भएको थिएन ।

प्रचण्ड पछिल्ला दिनहरुमा अलि नरम भएर अगाडि बढेको देखिन्छ । करिब ७ दशकको उपलब्धिलाई सानो गल्तीका कारण संस्थागत गर्न सकिन्न भन्ने हेतुले प्रचण्ड छलफल र बहसबाटै समस्याको समाधान चाहान्छन् ।

हिजोका दिनमा पार्टीमा एकछत्र राज गरेको र विधि, सिद्धान्त नमानेको आरोप खेपेका प्रचण्डलाई अहिले नरम भएर अगाडि बढ्दा पनि अर्को झट्का लाग्न थालेको छ ।

पार्टीमा बहुमतको नजिक रहेका प्रचण्डले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउँदा पनि क्षमायाचनामा टारेका थिए ।

लामो संघर्ष र पारिवारिक पिरलोमा परेका प्रचण्डलाई पार्टीभित्रका एकपछि अर्को तरंगले दुःखी तुल्याएको छ । आगामी रणनीति कसरी तय गर्ने भन्ने प्रचण्डलाई सोच्न गाह्रो भएको नेकपाका केही नेता बताउँछन् ।

पार्टी एकलौटी ढंगले हाँक्ने प्रवृत्तिले नेकपाको एकता पनि धेरै समय जान नसक्ने विश्लेषहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्