प्रधानमन्त्रीको कदमले ठगिए बामदेव, ईश्वरलाई पाखा !


ओकेजनता डेस्क
२९ आश्विन २०७७, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

उनले आफू निकट अन्य नेता कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री बनाएका छन् ।

त्यस्तै थपिएका मन्त्रीमा लिलानाथ श्रेष्ठ छन् । उनलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यसअघि उक्त जिम्मेवारी निर्वाह गरिरहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ ।

किन सारिए ईश्वर पोखरेल?

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएको छ ।

उनले यसअघि सम्हालिरहेको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेका छन् ।

के प्रधानमन्त्री पोखरेलसँग असन्तुष्ट भएर उनलाई उक्त जिम्मेवारीबाट मुक्त गरिएको हो ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, “असन्तुष्टि भन्दा पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत जे जति संयन्त्रहरू सक्रिय छन्, जे जति जिम्मेवारीहरू छन् तिनको संयोजनको आवश्यकतालाई अझ बढी महसुस गरेर त्यसो गरेको हुनुपर्छ ।“

प्रधानमन्त्री कार्यालय मातहतमा राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग लगायत छन् ।

वामदेव गौतमको ठाउँ ?

हालै राष्ट्रिय सभाका सदस्य बनाइएका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पनि सरकारमा सहभागी गराइने चर्चा थियो ।

उनलाई थप जिम्मेवारी नदिन आदेश दिएको सर्वोच्च अदालतले मन्त्री बन्न मिल्छ कि मिल्दैन भन्ने रिटबारे निर्णय गर्न बाँकी छ ।

त्यसैले कतिपयले उनकै निम्ति उक्त जिम्मेवारी प्रधानमन्त्रीले आफूले राखेको ठानेका छन् ।

तर कतिपयले गौतमको मन्त्री बन्ने बाटो बन्द भएमा वा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रचण्ड वा माधव नेपाल पक्षका नेतालाई स्थान दिनुपर्ने अवस्था आएमा ठाउँ राखेको अनुमान पनि गरेका छन् ।

त्यसबारे प्रेस सल्लाहकार थापाको जवाफ थियो, “यो त मन्त्रिपरिषद्को सामान्य व्यवस्थापन मात्र हो, पुनर्गठन त पछि हुनसक्छ नि ।“

प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएकै दिन मन्त्रिपरिषद्को पुनर्गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्