चितवनमा सुविधा सम्पन्न कोभिड आइसोलेसन सञ्चालन


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

चितवन । पहिलो चरणका कोरोना संक्रमितका लागि लक्षित गरेर चितवनको भरतपुर महानगरपालिकाले निर्माण गरेको कोभिड आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ बागीश्वरीमा सञ्चालनमा आएको आइसोलेसनमा प्राकृतिक विधिबाट संक्रमितको उपचार शुरु गरिएको हो ।

चितवनको भरतपुर रहेको बागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा चिकित्सालयमा निर्माण गरिएको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएका तर कुनै पनि लक्षण नदेखिएका संक्रमितको उपचार गर्न आइसोलेसन केन्द्र सञ्चालन गरिएको हो ।

उपचाररत संक्रमितहरुलाई हरेक बिहान हर्बल चिया तथा राति दुध बेसार दिइनुका साथै दैनिक पाँच पटक फरक खालका प्राकृतिक भोजन गराइँदै आएको छ । केन्द्रमा रहेका पहिलो चरणका संक्रमितहरुलाई खानपानमा विशेष ध्यान दिँदै योग र प्राकृतिक पद्धतीबाट उपचार गरिँदै आइएको छ ।

चिकित्सालयमा रहेका पाँच वटा घरका २५ कोठामा ७५ जना संक्रमित राख्ने क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गरिएको हो । केन्द्रको आन्तरिक व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ भने सञ्चालन खर्च भरतपुर महानगरपालिकाले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्