ओली–प्रचण्ड गोप्य भेट, के भयो छलफल ?


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब अढाई घण्टा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पार्टीको आन्तरिक विषयमै केन्द्रीत भएको हो ।

छलफलमा कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान, सांगठनिक प्रक्रियाको बाँकी एकताको काम लगायत विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षले जारी गर्नुभएको आन्तरिक पार्टी निर्देशनमा असोज मसान्तभित्रै सांगठनिक एकताका बाँकी काम टुङ्गो लगाउने प्रतिबद्धतासहितको निर्देशन पार्टी पङ्तिलाई गरिएको थियो । मसान्त सकिन अब दुई दिन बाँकी रहँदा दुई अध्यक्षबीच यस विषयमा गृहकार्यका लागि छलफल भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि देखिएको पार्टीको विवाद व्यवस्थापनमा समेत दुई अध्यक्षबीच छलफल भएको सल्लाहकार साकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्