मन्त्रीको रहर, ओलीकै भर, आयो यस्तो खबर !


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । यतिबेला नेपाली राजनीतिक वृत्तमा मन्त्रीको खिचडी उम्लिरहेको छ । खिचडी पाक्नै लाग्दा आगो निभेको छ ।

आधा पाकेको खिचडी कसले खान्छ र ! त्यतिकै सेलाउन लागेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेरमा सहमति गर्न नसक्दा मन्त्रीको बहस सेलाएको छ ।

अहिले प्रधानमन्त्री ओलीले नै मन्त्रिमण्डल बिस्तारमा चासो देखाउन छोडेसँगै मन्त्रीको खिचडी सेलाएको हो ।

यतिबेला नेकपाका अध्यक्ष प्रचण्डको दैनिकी दिनानुदिन बालुवाटार जाने, प्रधानमन्त्री ओलीलाई भेट्ने र छलफल सकाएर फर्कने रहेको छ ।

कुनै बेला प्रधानमन्त्री बनाउने र फाल्न सक्ने प्रचण्ड अहिले आफ्नै सरहका अध्यक्षसँग दौडिरहनुभएको छ ।

मन्त्री बन्न निकै दौडधुप गरेका नेताहरुको रहर पनि अब प्रधानमन्त्री ओलीले नै पुरा गर्नसक्ने देखिएको छ । मन्त्रिमण्डल बिस्तार लम्बिँदै जानुमा केही असहमति चुलिएको छ ।

दशैँ अगावै मन्त्रिमण्डल बिस्तार नहुने संकेत पनि देखिएको छ ।

यतिबेला कोरोना त्राहीमाम र जनताको दैनिकी असहज बनिरहेका बेला मन्त्रिमण्डलको चटारोमा लाग्न ठिक नहुने प्रधानमन्त्री ओलीको धारणा रहेको नेकपा स्रोत बताउँछ ।

दशैँमा चुल्हो निभेका जनताको दैनिकीलाई कसरी सहज गर्न सकिन्छ, जनतालाई सरकारले के गिफ्ट दिन सक्छ भन्नेमा सर्वसाधारण कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्