कोरोना नियन्त्रण प्रयासमा ट्रम्पको फितलो मनोविज्ञान


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावका लागि अति महत्वपूर्ण मध्येमा पर्ने राज्य फ्लोरिडामा पाको उमेरका मतदातालाई सम्बोधन गर्दै बाइडेनले ट्रम्पको आलोचना गरेका हुन् ।

फ्लोरिडाको पेमब्रोके पाइन्स शहरमा रहेको सिनियर सेन्टरका मतदातालाई सम्बोधन गर्दै बाइडेनले भने, ‘राष्ट्रपति ट्रम्पका लागि तपाईँहरु नभए पनि केही हुँदैन । तपाईँहरुको बिदा हुन योग्य हुनुहुन्छ राष्ट्रपतिका अनुसार ।’

एक दिनअघि ट्रम्पले फ्लोरिडामा चुनावी सभा गरेका थिए । कोरोना भाइरसबाट संक्रमित भइ उपचार गरेपछिको पहिलो चुनावी सभामा ट्रम्प फ्लोरिडा गएका हुन् । उनले समर्थकलाई आफू ‘शक्तिशाली’ भएको बताएका थिए ।

राष्ट्रपति चुनाव जित्न चाहिने २७० इलेक्ट्रोल कलेज मतका लागि फ्लोरिडा र ओहायोसहितका ‘ब्याटलग्राउण्ड’ राज्य महत्वपूर्ण रहेका छन् ।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन राष्ट्रिय रुपमा ट्रम्प भन्दा दोहोरो अंकले अघि देखिएका छन् । तर केही महत्वपूर्ण राज्यहरुमा अग्रता साँघुरो रहेको छ ।

रियल क्लियर पोलिटिक्सले संकलन गरेको औषत अनुसार फ्लोरिडामा बाइडेन ३.७ प्रतिशतले अघि रहेका छन् । सन् २०१६ को चुनावमा ट्रम्पले फ्लोरिडामा साँघुरो मत अन्तरले जितेका थिए ।

त्यसका लागि पाको उमेरका मतदाताको मत महत्वपूर्ण सावित भएको थियो । तर पछिल्लो सर्वेक्षणहरुमा पाको उमेरका मतदाताहरु रिपब्लिकनबाट टाढिँदै गएका छन् ।

सामाजिक दूरीका सबै नियम पालना गरिएको कार्यक्रममा मंगलबार बाइडेनले फ्लोरिडाको दक्षिणी क्षेत्रमा रहेको सिनियर सेन्टरका मतदातालाई सम्बोधन गरेका हुन् ।

ट्रम्प र बाइडेनको चुनावी अभियानमा स्पष्ट अन्तर देखिन्छ । एक दिन पहिले ट्रम्पले हजारौँको सहभागितामा भिडभाडयुक्त चुनावी सभा गरेका थिए, जसमा अधिकांशले मास्क समेत लगाएका थिएनन् ।

ट्रम्पले कोरोना भाइरसबाट पाको उमेरका व्यक्तिमा पर्ने गम्भीर प्रभावलाई खारेज गरी सो समूहका मानिसलाई जोखिममा पारेको आरोप बाइडेनले लगाए ।

बाइडेनले भने, ‘ट्रम्पका लागि तपाईँहरु बलिदानका योग्य हुनुहुन्छ, बिर्सन लायक हुनुहुन्छ, तपाईँहरु उनका लागि वास्तवमै केही होइन । उनले त्यसरी हेर्छन् तपाईँहरुलाई ।’

उनले भने, ‘डोनाल्ड ट्रम्पले एक मात्र पाको उमेरको व्यक्तिलाई ख्याल गर्छन् र त्यो उनी आफै हुन् ।’

पाको उमेरका व्यक्तिहरुले आफ्ना नातिनातिनालाई भेट्न नपाइरहेका बेला ट्रम्पले रिपब्लिकनहरुले एकअर्कालाई अंकमाल गरी रहेको सुरपस्प्रेडर पार्टी आयोजना गरेकामा पनि ट्रम्पको आलोचना बाइडेनले गरे ।

प्रतिक्रिया दिनुहोस्