नेकपा एकता भाड्न खोज्नु पतनको बाटो…


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । भनिन्छ, कुनै काम गर्न गाह्रो र अप्ठ्यारो परेमा दाँतबाट पसिना आउँछ वा फलामको चिउरा चपाएजस्तै हुन्छ । यथार्थमा भने न त दाँतबाट पसिना नै आउँछ न त फलामको चिउरा चपाउन सकिन्छ ।

प्रसंग, नेकपाको एकता प्रक्रिया र त्यसको संस्थागत बिन्दुको विषयमा चर्चा गर्न खोजिएको हो । नेकपा पार्टी एकता भएको तीन वर्ष भइसकेको छ । अझै नेकपाका भातृ संगठनको एकता र महाधिवेशन बाँकी नै छन् । अहिले कोरोनाको कारण देखाउँदै नेता, कार्यकर्तालाई सान्तवना दिने बाटो त होला तर यसको दुरगामी असर निकै पर्ने संकेत देखिन थालेको छ ।

अहिले पार्टीमा सर्वेसर्भा बनाइएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग केही नेताहरुको असमझदारी देखिन थालेको छ । हरेक संगठनका नेता, कार्यकर्ता जिम्मेवार विहीन भएपनि विशाल पार्टीमा टकराव आउने निश्चित छ ।

कर्णालीको घटनाक्रमलाई हेर्दा अझै पूर्ववत एमाले र माओवादीको हुटहुटी बाँकी नै रहेको देखिएको छ । सतहमा आएको विवादमा टालो हाल्ने प्रयास गरेपनि बागमती प्रदेश र प्रदेश नम्बर १ मा पुनः यस्तै विवाद नआउला भन्न सकिन्न ।

समग्र सिनारियो हेर्दा पार्टी एकता भन्दा नेकपामा गुट प्रिय बन्दै गएपछि अब्बल नेताहरु नै ओझेलमा पर्दै गएका छन् । नयाँ पुस्ताका नेताको छलाङ गुटका कारण बलियो बन्दै गएको छ भने पाका नेताहरुलाई भित्तामा टाँस्ने सम्मका प्रयत्न भएको पाइन्छ ।

शक्ति सन्तुलनका कारण पनि दुई अध्यक्षबीच पनि बेलाबखत टकराव आउने गरेको छ । प्रधानमन्त्री ओलीले केही समयअघि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आरोप लागेको थियो । यद्यपि पूर्व एमाले र माओवादी दुवै दल दुवै कित्ताले सुरक्षित राखेका छन् ।

यो ऐतिहासिक एकता भएकाले पनि र धेरै नेता कार्यकर्ताको प्रयत्नले सफल भएको हुनाले यसमा विघटन आउँदा एक पक्ष पतन हुने देखिन्छ । त्यसैले पनि पार्टी विघटन भन्दा बचाउ तर्फ नेकपा उद्दत भएको छ । अझै पनि एकताले मूर्त रुप लिइसकेको छैन ।

अहिले पार्टीमा सुरक्षित हुन चाहने नेताका लागि सुनौलो अवसर पनि रहेको छ । कतातिरको धारमा सुरक्षित हुने भन्नेमा नै नेताहरु लबिङमा लागेको पनि देखिन्छ । भर्खरै पूर्वमाओवादीका नेता उद्योगमन्त्री लेखराज भट्टकै विषयमा चर्चा भयो, उनले माओवादी कित्ता त्यागेर नेकपा प्रवेश गरेको बताए ।

यस्तै अन्य नेताहरुले पनि गरेका छन् । जिल्लास्तरमा पनि आफू कसरी सुरक्षित भइन्छ भन्नेमा नेताहरुको दौडधुप छ । पछिल्लो समय समझदारीमै भएपनि पाँचवर्षे सरकारलाई स्थीर बनाउने र पार्टीलाई व्यवस्थित ढंगले हाक्ने पनि सहमति भएको छ ।

बेलाबखत पुनः पाटीमा अस्थिरता पैदा हुँदा सबैलाई सशंकित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्