काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा करिब एक साता अघि भएको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय शैफुल खान पैठान रहेका छन् ।
असोज २१ गते कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा हातखुट्टा कपडाले बाँधिएको, अनुहार कपडाले बेरिएको अवस्थामा एक महिलाको शव स्थानीय खोलामा तैरिरहेको अवस्थामा भेटिएको थियो ।
केही दिनपछि मृतककी १८ वर्षीया छोरीले सनाखत गरेपछि ती महिला भारत घर भएकी ४० वर्षीया मैरुन नेसा रहेको खुलेको थियो ।
पर्सा प्रहरी प्रमुख गंगा पन्तले पैठान र नेसा लामो समयदेखि पर्सामासँगै बस्दै आएको बताइन् । ‘नेसा छोरीसहित पर्सामा बस्दै आएकी थिइन् । उनीहरु पठानसँग परिवार जसरी बस्दै आएका रहेछन् ।
केही समयअघि पठान हेटौँडा काम गर्न सरेपछि नेसालाई पनि उतै लैजान खोजेका रहेछन् । तर छोरीले नमानेपछि पठान मात्र हेटौँडामा बस्दै आएको खुलेको छ’, प्रहरी उपरीक्षक–एसपी पन्तले भनिन् ।
पठानले नेसा अरु पुरुषहरुसँग पनि शारिरिक सम्बन्धमा रहेको थाहा पाएपछि उनको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । एसपी पन्तले भनिन्, ‘नेसालाई घरै लैजान्छु भन्दै त्यस दिन बोलाएका रहेछन् ।
बाटामा शारिरिक सम्बन्ध राख्न सहमतिमै ती महिलाको हात खुट्टा बाँध्नुको साथै अनुहार कपडाले बेरिएको रहेछ । त्यसपछि नेसाको घाँटी कसेको अनुसन्धानबाट खुलेको छ’, एसपी पन्तले भनिन् ।
प्रहरीका अनुसार पठान विवाहित हुन् । उनको परिवार कालिकामाई गाउँपालिका वडा नम्बर २ मा बस्दै आएको छ । प्रहरीले विश्वासमा नेसाले पठानले भनेअनुसार गरेपनि हत्या आरोपीको योजना भने मार्ने नै रहेको दावी गरेको छ ।