भर्खरै : बलात्कारीलाई मृत्युदण्ड सजाय दिइने


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । बंगलादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ ।

सरकारले सोमबार यस विषयमा औपचारिक निर्णय गरेको हो । बीबीसी बंगलासँग कुरा गर्दै कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने बताए ।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो ।

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए । धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो ।

अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीलाई बताए । यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ।

कसरी भयो घटना ?

बेगमगन्जमा खिचिएको भिडिओमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनालाई ती पीडित महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।

गत वर्ष ती महिलालाई ती आरोपित व्यक्तिले बन्दुक देखाएर बारम्बार बलात्कार गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानमा देकिएको ह्यूमन राईट्स वाचले जनाएको छ ।

विरोध गरे वा भनेको नमाने उनलाई ती व्यक्तिले सामूहिक बलात्कार गर्ने धम्की दिने गरेको आयोगका अनुसन्धान निर्देशकले बताएका छन् ।

ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडिओ खिचेर उक्त व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाव दिएका थिए ।

तर उनले उनीहरूले भनेको नमानेपछि भिडिओ सार्वजनिक भयो ।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायले उक्त भिडिओलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो ।

ती महिलाले आफ्नो जीवन तहसनहस भएको भन्दै आफ्ना छोराछोरीबारे आफू चिन्तित भएको स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन् ।

उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका भए पनि प्रदर्शनकारीरहरूले देशमा हुने यौन आक्रमणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग राखेका थिए ।

बाङ्ग्लादेशमा बलात्कारका घटना कति ?

ऐन ओ सलिश केन्द्र नामक एउटा मानवाधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बाङ्ग्लादेशमा कम्तीमा ९७५ जना महिला बलात्कृत भएका थिए ।

तीमध्ये २०० वटाभन्दा बढी घटना सामूहिक बलात्कारका हुन् । पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको उसको तथ्याङ्क छ ।

बलात्कारसम्बन्धी तथ्याङ्क प्रायः सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सङ्कलन गरिएकाले र धेरै घटना जानकारीमा नआउने भएकाले बाङ्गलादेशमा बलात्कारको वास्तविक सङ्ख्या धेरै भएको अनुमान गरिएको छ ।

यो वर्षको आरम्भमा ढाकामा भएको घटनाविरुद्ध ठूलो प्रदर्शन भएपछि उच्च अदालतले कानुन मन्त्रालयलाई देशमा हुने यौन हिंसा नियन्त्रण गर्न निर्देशन दिएको थियो ।

बाङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको ह्यूमन राईट्स वाचले जनाएको छ ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्