ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमी कोनी ब्यारेटले संसदीय सुनुवाई सुरु


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतमा खाली रहेको न्यायाधीश पदका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमी कोनी ब्यारेटले संसदीय सुनुवाई सुरु भएको छ ।

सिनेटमा सुनुवाईको सुरुवात आफ्नो सुरुवाती वक्तव्य राख्ने क्रममा न्यायाधीश ब्यारेटले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मानको कुरा रहेको बताइन् ।

अति विवादास्पद र आक्रामक रुपमा सुरु भएको सिनेट सुनुवाईको क्रममा उनले निष्पक्ष रुपमा कानूनको सेवा गर्ने बताएकी छन् ।

कुनै पनि मुद्दाको सुनुवाई निष्पक्ष रुपमा गर्ने बताएकी हुन् । चुनावको मुखैमा आएर खाली भएको न्यायाधीश पदका लागि ब्यारेटको मनोनयनले गम्भीर राजनीतिक संघर्ष सुरु गरेको छ ।

सुनुवाई समितिका रिपब्लिकन प्रमुखले लगातार सुनुवाई हुने बताएका छन् ।

सुनुवाईको क्रममा आफ्नो सुरुवाति सम्बोधन न्यायाधीश ब्यारेटले भनिन्, ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित भएकी छु, तर कसैले कहिल्यै पनि उहाँको ठाउँ लिन सक्ने छैन । म जहिले पनि उहाँले बनाएको मार्ग र उहाँले निर्देशिक गरेको जीवनका लागि आभारी रहने छु ।’

तर उनले सेभेन्थ सर्किट कोर्ट अफ अपिल्सको न्यायाधीशका रुपमा गरेको फैसलाहरुले न्यायाधीश गिन्सबर्गले स्थापित गरेको सिद्धान्तहरु विपरित छन् । सुनुवाईको क्रममा डेमोक्र्याटिक सिनेटरहरुले उनलाई ती विषयलाई लिएर गम्भीर प्रश्न गर्ने छन् ।

सिनेटमा सामान्य बहुत रहेका रिपब्लिकनले नोभेम्बर ३ मा हुने चुनाव पूर्व नै सुनुवाई प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन् ।

ब्यारेट कन्जरभेटिभ न्यायाधीश हुन् । सिनेटले उनको नाम अनुमोदन गरेमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ लिने छिन् ।
एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहोस्