२७ हजार छोरीको घरमा निशुल्क इन्टरनेट


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

काठमाडौं । प्रदेश २ मा २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने भएको छ ।

छोरी शिक्षा बीमा गराएका घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रममा २०७६ साल माघ २ गतेयता बिमा गराएकी २७ हजार छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको छ ।

माघ २ गतेखि प्रदेश २ का १ सय ३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो । त्यसयता २६ हजार ९ सय ५६ छोरीले बिमा गराएको मुख्यमन्त्री कार्यालयसँग तथ्यांक छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले सोही नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी गरिएको हो ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएका छोरीहरुको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

महिला हिंसा न्यूनीकरण, छोरीप्रतिको हेर्ने दृष्टिकोण परिवर्तन तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइएको हो । जसअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मिनेबित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर ३ लाख रुपैयाँको बीमा गर्ने गरेको छ ।

बिमा रहम छोरीले २० वर्षपछि पाउने छन् । मुख्यमन्त्री कार्यालयसँग माघदेखि यता २६ हजार ९ सय ५६ छोरीको बीमा भएको तथ्यांक छ भने प्रभु बैंकसँग २८ हजार ४ सय ५७ छोरीको बिमाको तथ्यांक रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानकी संयोजक पियंका यादवले बताइन् ।

प्रदेश सरकारले छोरी शिक्षा बिमा गर्न दुई वर्ष अर्थात् २०७६ असारसम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो ।

जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता भएको थियो । प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न बुधबार बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बसेको बैठकले पुनः छोरी शिक्षा बिमा सुरु गर्ने, प्रभावकारी ढंगले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिइन् ।

अब अर्को बैंकसंग छोरी शिक्षा बिमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम सुरु हुने मुख्यमन्त्री कार्यायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्