नेकपामा गहिरियो विवाद : कर्णालीमा विभाजन !


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

सुर्खेत । कर्णाली प्रदेशमा नेकपाभित्रको विवाद सतहमा पुगेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् ।

शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन,’ शाहले भने, ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’

शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पारे । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहले भने ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी दिएको सीता नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताइन् । ‘भोलि बैठक बस्दैन, केके हुन्छ पछि थाहा हुन्छ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्