काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेटघाट गरेका छन् ।
बिहानको भेटघाटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोबारे छलफल भएको थियो ।
प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता के हो ? भनेर बुझ्ने प्रयास गरेका थिए ।
स्रोतका अनुसार ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको कुरा भने स्वीकार गरेका थिए ।
भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डको उक्त धारणाप्रति ओलीले ठोस जवाफ नदिएको बुझिएको छ ।
‘कहाँ केके गर्ने हो ? समग्रतामा छलफल गर्नुपर्छ । एउटालाई हटाउने अरुलाई राख्ने गर्दा राम्रो हुँदैन’, प्रचण्डको भनाई थियो । सोमबारको दुई नेताबीचको भेटवार्तामा अन्य विषयमा कुनै छलफल नभएको बुझिएको छ ।