डा. रावलले भने– ‘नेपाल–चीन सीमाबारे सत्यतथ्य बाहिर आओस्’


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

डा. रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

रावलले भनेका छन्, ‘हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’

‘देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने डा. रावलको माग छ ।

तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ ।

हालै हुम्लाको सीमा क्षेत्रमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो । यो सामाचार सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो ।

केही दिन अघि मात्रै नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि चिनियाँ टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको समाचार सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्