काठमाडौं । विगत दुई वर्षयता बजारमा अखाद्य वस्तु बिक्री भइरहेको रहस्य खुलेको छ ।
खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको प्रहरी समक्ष बयान दिएका छन् ।
उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार, बोथराले ‘डेढ–दुई वर्षदेखि यो काममा म मात्र संलग्न छु’ भनेका छन् ।
उनले आफू आयान डिष्ट्रिब्यूटरको म्यानेजरको रुपमा नियुक्त भएको र कम्पनीले खरिद–बिक्री भएका सामानहरुको बजारबाट भुक्तानी लिने, सेल्स एकाउण्ट रेखदेखको जिम्मेवारी दिएको बयान दिएका छन् ।
आयान डिष्ट्रिब्यूटरकी सञ्चालिका पुष्पादेवी अग्रवालले कम्पनी आफ्नो नाममा भए पनि कारोबार नगरेको बताएको विभागले जनाएको छ ।
विभागका अनुसार, प्रहरीले पक्राउ गरेपछि मात्र कम्पनीमा त्यस्तो काम हुने गरेको थाहा पाएको अग्रवालको बयान छ ।