मन्त्रीको लिस्ट कसको गोजीमा : ओली की प्रचण्ड ?


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिमण्डल बिस्तारका लागि गृहकार्य गरिरहेको छ । मन्त्रिमण्डल बिस्तारका लागि योग्य पात्र छनोट गर्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मा दिइएको छ ।

दुवै अध्यक्षले मन्त्रिमण्डल बिस्तारका लागि लामो छलफल पनि गरेका छन् । सचिवालय बैठकमा पनि झिनो रुपमा मन्त्रिमण्डलको एजेण्डा प्रस्तुत भएको थियो । तैपनि हालसम्म (करिब ३ महिना) यतादेखिको मन्त्रिमण्डल पुनर्गठनले पूर्णता पाउन सकेको छैन ।

मन्त्रिमण्डल बिस्तार नहुनुमा अहिले विभिन्न अड्कलबाजी हुन थालेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र दाहालबीच केही मन्त्रीका विषयमा मतभेद हुँदा यो प्रक्रिया रोकिएको बताइएको छ । बहालवाला कुन–कुन मन्त्रीलाई हटाउने र नयाँमा कसलाई ल्याउने भन्नेबारेमा दुई अध्यक्षबीच मसिनो छलफल भएपनि सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्ताबाट मन्त्रीका लागि सिफारिस गरेका छन् भने दाहालले पार्टीभित्र योगदान गरेका सबैलाई प्रक्रिया र आवश्यकता हेरेर ल्याउनुपर्ने अडान लिएका छन् । मन्त्रीमा अनुभवी व्यक्तिलाई सिफारिस गर्न नेकपामा दबाब पनि बढेको छ ।

व्यक्तिलाई सहयोग गरेको पदवीका रुपमा मन्त्री पद हस्तान्तरण गर्न नहुने र सिंगो पार्टी सञ्चालन र प्रणालीमा लागेका दिग्गज व्यक्तिलाई मन्त्रीमा ल्याउनुपर्ने नेकपाका नेता बताउँछन् । अहिले खाली रहेका मन्त्रालय सूचना, सञ्चार तथा प्रविधि, अर्थ, शहरी विकासमा समेत कसलाई पठाउने भन्नेमा टुंगो लागेको छैन ।

अहिले प्रधानमन्त्री ओलीले मिहीन ढंगले अनौपचारिक रुपमा आफ्ना वरपरका संयन्त्रसँग पनि मन्त्री कसलाई बनाउने भन्नेबारे छलफल गरिरहेको बुझिएको छ ।

यता, अर्का अध्यक्ष पुष्पकमल दाहाललाई खानेपानी मन्त्री बिना मगरलाई पार्टीका कामका लाग्ने गरी फकाउन समस्या भएको बताइन्छ । दाहाललाई बारम्बार परिवारवाद र नातावादको आक्षेप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्