कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको निधन


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट निधन भएको छ ।

६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उहाँलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई भरतपुर अस्पताल ल्याइएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या भएका वडाध्यक्षलाई अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्