कोरोना संक्रमणबाट फेरि ४ को मृत्यु


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणबाट पुनः ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो ।

बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटुका दीर्घरोगी थिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।

असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा. गौतमले पुष्टि गरे ।

असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।

शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्