फेरि लकडाउन भए हामी नै बेरोजगार बन्छौँ : अध्यक्ष कुँवर


ओकेजनता डेस्क
२४ आश्विन २०७७, शनिबार

कोरोना कहरका कारण जारी बन्दाबन्दीले उद्योग धन्दा सबै ठप्प छन् । त्यति मात्रै हैन मुलुकको अर्थतन्त्र नै तहसनहस भएको छ । ६ महिना लामो बन्दाबन्दी अझै पूर्ण रूपमा खुल्न सकेको छैन । सरकारले मापदण्डमा टेकेर होटेल तथा उद्योगहरू सञ्चालनको अनुमति दिएपनि त्यहाँ ग्राहक नहुँदा कारोबार शून्य छ । धरासायी अर्थतन्त्रलाई कसरी माथि उकास्न सकिन्छ र कोरोना जोखिम बढ्दै गएको अवस्थामा अबको विकल्प के हो ? यिनै सन्दर्भमा रहेर ओकेजनताको सुदूरपश्चिम ब्यूरोले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसँग कुराकानी गरेको छ ।

१) बन्दाबन्दी खुलेपछि उद्योगीको पछिल्लो अवस्था के छ ?


करिब ६ महिना लामो बन्दाबन्दीपछि व्यवसाय सञ्चालन गर्न दिइएपनि देशभरिका उद्योगी, व्यवसायी सबैभन्दा बढी मर्कामा परेका छन् । अझै पनि व्यवसाय माथि उठ्न सकेको छैन । होटेल व्यवसायी, यातायात व्यवस्था सबैभन्दा बढी प्रभावित बनेको जग जाहेर नै छ ।

तर राज्यले कुनै राहतका कार्यक्रम ल्याएन । व्यवसायीले अझै पनि ढुक्कले व्यापार गर्न सकिरहेका छैनन् । होटेल क्षेत्रमा त करिब ४५ हजार बढीले रोजगारी नै गुमाएका छन् । ६० प्रतिशत उद्योग अझै खुल्न सकेको छैन ।

अहिले व्यापार व्यवसायमा लगानी लगाउँदा भोलिका दिनमा फेरी बन्दाबन्दी हुँदा लगानी डुब्ने चिन्ताले व्यवसायीहरू त्रसित छन् । कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । बजारमा व्यापार शून्य हुँदा उद्योगीहरू चिन्तित छन् । सबै खाले व्यापार व्यवसाय चौपट भएको छ ।

२) सरकारले यो अवस्थामा व्यवसायीलाई गर्नसक्ने सहयोग के हो ?


विगत देखिनै हामीले जुन व्यवसाय मर्कामा परेको छ, अति प्रभावित व्यवसायीहरूका लागि घरभाडा, बिजुली, बैंङको ब्याज छुट गर्नुप¥यो र अन्य राहत दिनुप¥यो भनेर माग गरेका थियौँ । तर यसमा अहिलेसम्म केही सुनुवाइ भएको छैन ।

यसमा नचलेको व्यवसायको लागि मात्र भनेर नेपाल राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज मात्र छुट गरेको छ । सरकारीस्तरबाट अन्य कुनै सहयोग भएको छैन । व्यवसाय ठप्प हुँदा कैयौँ व्यवसायी पेसाबाट पलायन भएका छन् । हाम्रो माग के छ भन्दा साना, मझौला, ठूला व्यवसायीलाई पनि राज्यले राहत उपलब्ध गराउनुपर्ने भन्ने हो । तर, राज्यस्तरबाट निजी क्षेत्रमा केही पनि सहयोग भएको छैन ।

व्यवसायीहरू मिलेर हामीले निजी क्षेत्रबाट केही दिनअघि तपाईंले पनि देख्नुभयो भारतबाट आएकाहरूलाई सीमा नाकामा उचित व्यवस्थापन ग¥यौँ । कोरोना परीक्षणका लागी सरकारलाई आर्थिक रूपमा सहयोग ग¥यौँ ।

तर राज्यले हामीलाई सहयोग गरेको छैन । राज्यले हेर्नुपर्ने कुरा केही पनि हेरेको छैन । म यहाँबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । व्यवसायीको मर्कामा पनि सरकारको ध्यान जाओस् ।

३) तपाईं त व्यवसायीहरुको नेतृत्व पनि गरिरहनु भएको छ, व्यवसायीका समस्या समाधानमा यहाँहरुको भूमिका के छ अहिले ?


हामीले व्यवसायीका समस्यालाई लिएर निरन्तर सरकारको ध्यानाकर्षण गराइरहेको छौँ । कोरोना कहरका कारण जारी बन्दाबन्दीका कारण व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन ग¥यौँ, र उहाँहरूले व्यहोर्नु परेको समस्या समाधानका लागि जिल्ला प्रशासन, स्थानीय सरकार, प्रदेश सरकारसँग पहल गरेका छौँ ।

सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न चरणमा मागहरू राखेका छौँ । तर सुनुवाइ भएको छैन । अझै पनि हामी राज्यलाई झक्झक्याइ रहेका छौँ ।


हामीले सरकारलाई कर, घरभाडा, खानेपानी, बिजुलीलगायतमा छुट र अति प्रभावित व्यवसायमा केही राहत दिन माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गरी रहेका छौँ ।

४) कोरोना सङ्क्रमण बढ्दो क्रममा छ तर पनि बजार र व्यवसायहरू सञ्चालनमा आएका छन् । यसमा कस्तो सतर्कता अपनाइरहेका छन् व्यवसायीहरूले ?


६ महिना लामो बन्दाबन्दीपछि बल्ल व्यवसायहरू सञ्चालनमा आएका छन् । हामीले नै अब व्यवसाय सञ्चालन हुनुपर्छ भनेर माग गरेका थियौँ, र सरकारले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

त्यसैअनुसार हामीले कर्मचारी र ग्राहक दुबैलाई अनिवार्य मास्क, अनिवार्य स्यानिटाइजरको प्रयोग गराइरहेका छौँ । स्वास्थ्य सतर्कतालाई ख्याल गरेर अहिले हामीले कम भन्दा कम कर्मचारी र त्यसमा पनि आलोपालो अवधारणाबाट सेवा दिइरहेका छौँ ।


ग्राहकहरूबीच पनि सामाजिक दूरी कायम गराइरहेका छौँ । तर के गर्ने हामीले मापदण्ड पुरा गरेरै व्यवसाय सञ्चालन गरेपनि ग्राहक आएका छैनन् ।

५) अब फेरी बन्दाबन्दी भए के हुन्छ ?


अब फेरी बन्दाबन्दी भए मुलुक नै तहसनहस हुन्छ । व्यवसायीहरू उठ्नै सक्दैनन् । जसोतसो धानिरहेका व्यवसायीहरू पलायन हुन्छन् । रोजगारीका स्रोत खोसिन्छन् । ६ महिनाको बन्दाबन्दीले त होटेल क्षेत्रमा मात्रै ४५ हजार बढीले रोजगारी गुमाएका थिए । अब त लाखौँले रोजगारी गुमाउँछन् । अब बन्द भए त रोजगार दाता नै आफै बेरोजगार बन्छन् ।

लामो बन्दाबन्दी पछि उद्योग र होटेल खुले पनि हालसम्म माथि उठ्न सकिरहेका छैनन् । यस्तो बेलामा फेरी बन्द भए व्यवसाय सधैँका लागि बन्द गर्नुपर्ने स्थिति आउन सक्छ । हामीले बन्द गर्नुहुँदैन भनेका छौँ । अबको विकल्प बन्द पनि हैन । अहिलेको समयमा कोरोना सङ्क्रमणबाट बचेर व्यवसायहरूलाई सञ्चालन गर्नुपर्छ ।

विगतमा हामीले बन्दाबन्दी गरेर के पायौँ । सङ्क्रमण बढ्दै गइरहेको छ । त्यसकारण कोरोना व्यवस्थापनको उपाय बन्दाबन्दी होइन । स्वास्थ्य सतर्कता बढाएर कोरोनासँग लड्दै दैनिकीलाई सहज बनाउँदै लैजानु पर्छ ।

६) अन्त्यमा मैले सोध्न छुटाएको र तपाइले भन्ने खोजेको ?


व्यापार व्यवसाय पूर्ण रूपमा सञ्चालन हुनुपर्दछ । हाल होटेल र उद्योग सञ्चालन भएपनि जुन किसिमको चहलपहल हुन्थ्यो, त्यो हुन सकेको छैन । व्यवसाय खुलेपनि गोष्ठी, समारोह हुन पाएका छैनन् । कोरोना कहरका कारण नागरिकलाई घर बाहिरै आउन समस्या भइरहेको छ ।

त्यसकारण कारोबार हुन सकेको छैन । व्यवसायीहरुलाई कोठा भाडा तिर्न र बैंकको ब्याज तिर्नै समस्या छ । म फेरी पनि भन्छु अब बन्दाबन्दी आवश्यक छैन । यस्तो बेलामा कोरोनासँग जुध्दै दैनिकी चलाउनु पर्छ । र व्यवसायीहरुलाई माथि उठाउन सरकारले बिशेषरुपमा हेर्नुपर्दछ ।

नागरिकहरूले पनि आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु पर्दछ ।


ओकेजनता डट.कम., ब्यूरो कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्