बामदेवको टुंगो नलागेपछि, तुलसालाई मन्त्री अफर !


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई यतिबेला संकट आइलागेको छ ।

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाई बुधबार हुन सकेन । सर्वोच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि बुधबारको सुनुवाई स्थगित भएको हो ।

गौतमको राष्ट्रियसभा सदस्य पदको रिटमा टुंगो नलागेका कारण मन्त्रिपरिषद् पुनर्गठन पनि रोकिएको छ ।

प्रचण्डले संचार मन्त्रालयको जिम्मा पम्फा भूसाललाई दिनुपर्ने माग राखेपछि सहमति हुन नसकेको बताइन्छ ।

यसैबीच, बुधबार सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई हुन नसकेपछि उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार नै पुगेका थिए । बुधबार अपरान्ह् बालुवाटारमा पुगेका गौतमले प्रधानमन्त्री ओलीलाई अदालतमा रिट हाल्ने काम तपाईकै उक्साहटमा भएको हो भनेर गुनासो समेत राखेको स्रोतले बताएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो नभएको प्रष्ट पारेका थिए । यद्यपि नेपाली कांग्रेस निकट कानुन व्यवसायी दिनेश त्रिपाठीलाई रिट हाल्न लगाउने काम नेकपाका नेता सुवास नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले नै लगाएको चर्चा नेकपा बृत्तमा हुँदै आएको छ ।

बामदेव गौतमविरुद्ध परेको रिटको पेशी पटकपटक सारिनु र अब दशैंअघि सुनुवाइ नै नहुने परिस्थिति निर्माण भएपछि यसमा प्रधानमन्त्रीकै मानिसहरुको हात रहेको आशंका नेकपाका नेताहरुले गर्न थालेका हुन् ।


यही सन्दर्भमा गौतमलाई थुमथुम्याउन प्रधानमन्त्री ओलीले उनकी धर्मपत्नी तुलसा थापा गौतमलाई मन्त्री बनाउने प्रस्ताव गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तुलसालाई मन्त्री बनाउने पक्षमा उपाध्यक्ष गौतमले पनि सकारात्मक संकेत देखाइसकेका छन् ।

तुलसालाई भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालय, खानेपानी तथा सरसफाइ वा पर्यटन मन्त्रालय दिनुपर्ने माग भएपनि प्रधानमन्त्री ओली भने उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय दिने पक्षमा रहेको स्रोत बताउँछ ।

यद्यपि अब दशैंतिहारअघि मन्त्रीपरिषद् फेरबदल हुने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्