मन्त्रीमण्डल पुनर्गठनमा कहाँ अड्कियो हलो ?


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेसँगै विभिन्न अवरोध सिर्जना भइरहेका छन् ।

पार्टीमा पर्याप्त छलफल र बहस नगरेरै मन्त्रीमण्डल पुनर्गठनको तयारी भएपछि केही मतभेद कायम रहेको हो ।

मन्त्रीमण्डल पुनर्गठनको जिम्मा पाएका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बारम्बारको वार्तापछि पनि मन्त्रीमण्डल बिस्तारको एजेण्डामा प्रवेश पाएको छैन ।

दुई अध्यक्षको आ–आफ्नै हठका कारण मन्त्रीमण्डल बिस्तार अनिश्चित बनेको छ ।

भर्खरै बसेको नेकपाको सचिवालय बैठकमा पनि मन्त्रीमण्डल पुनर्गठनले प्रवेश पाएन । दुई अध्यक्षको ‘वान टू वान वार्ता’मा पनि मन्त्रीमण्डल बिस्तारको एजेण्डामा छलफल भएको छैन ।

कुन मन्त्री हटाउने र कुनलाई भित्र्याउने भन्नेमा सहमति हुन सकेको छैन । तीन जना नेकपाका नेता मन्त्री बन्ने पक्कापक्की भएपनि त्यसमा अझै अन्तिम सहमति भएको छैन ।

जनार्दन शर्मा, बिष्णु पौडेल र सुरेन्द्र पाण्डेमा मोटामोटी सहमति भइसकेको विषयले यसअघि चर्चा पाएको थियो ।

मन्त्रीको दौडमा लागेका र मन्त्रीमा तटस्थ रहन चाहाने केही नेताका कारण मन्त्रीमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको नेकपा स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्