वार्ताका लागि डा. केसी तयार, अनसन तोडिन्छ त ?


ओकेजनता डेस्क
२२ आश्विन २०७७, बिहीबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द के.सी. र सरकार पक्षबीच बिहीबार दिउँसो वार्ता हुने भएको छ ।

के.सी. अनसन बसेको २४ औँ दिनसम्म पनि वास्ता नगरेको सरकारले बुधबार वार्ता टोली गठन गरेपछि केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको हो ।

दुवै पक्षका वार्ता टोलीले आज दिउँसो वार्ता गर्ने भएका हुन् । वार्ताको मुडमा नदेखिएको सरकारले प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरुको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

सरकारको समिति बनेको केही घन्टापछि डा केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बन्यो ।

केसीका तर्फबाट डा जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

वार्ता टोली नै नबनाउने सरकारी मनसाय र आजदेखि आन्दोलन सुरु गर्ने केसीपक्षबीच वार्ता टोली बनेपछि आजबाट वार्ता हुने भएको छ ।

सरकार र सत्याग्रही डा केसीको वार्ता टोलीबीच आज (बिहीबार) दिउँसो ४ बजे वार्ता गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्