नेपाली भु–भागमा नेपालीको हक छ : मुख्यमन्त्री भट्ट


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले नेपाली भू–भागमै जान नदिएको प्रति आक्रोश व्यक्त गर्दै दुई देशबीच कुटनीतिक छलफल हुनुपर्ने बताए ।

दुई दिनअघि दार्चुलाको घाटीबगर हुँदै छाङरु र तिंकर गाउँ जोड्ने गोरेटो बाटोको उद्धघाटन गरेर फर्केका मुख्यमन्त्री भट्टले भारतीय रबैया विगत भन्दा झन बढाएको बताए ।

‘नेपाली भूभागमा रहेको भारतीय सुरक्षा फौज फिर्ता लैजानु त कहाँ हो कहाँ दुई देशको सीमा छुट्टाएर तारबार गरेको कालापानीको बोर्डरसम्म पनि नेपाली सुरक्षाकर्मी जान दिएको छैन् रे ।’ उनले भने–‘गागामा रहेको एपीएफ बोर्डर पोष्टका सुरक्षाकर्मी कालापानीको माथिल्लो कौवासम्म गस्ती गर्न पाएका छैनन् ।’

अहिलेको बोर्डरसम्म जानासाथ भारतीयले दुई किलोमिटर यतै रोक्ने गरेको नेपाली सुरक्षाकर्मी र त्यस क्षेत्रका जनप्रतिनिधि प्रदेश सांसद गेल्बु सिं बोहराले जानकारी दिएको भन्दै मुख्यमन्त्री भट्टले यस विषयमा दुई देशबीच छलफल हुनुपर्ने बताए ।

दुई देशको सीमामा बनाएको कुनैपनि संरचनाले एक–अर्काेलाई असर नपार्ने अन्तर्राष्ट्रिय मान्यता विपरीत नेपालसँग कुनै कुरा नगरी भारतले पारी सडक निर्माण गर्दा नदीमा ढुङ्गा माटो थुपारिएर नेपाली भूभागलाई असर परिरहेकोले रोक्नुपर्ने उनले बताए ।

नेपालले लिम्पयाधुरा लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेपछि भारतीयले नेपालीलाई झन दुःख दिने गरेको, अहिलेकै सीमासम्म पनि नेपाली सुरक्षा फौजलाई जान नदिएको विषय गम्भीर रहेकोले तत्कालै कुटनीतिक छलफलबाट समस्य समाधान गरिनुपर्ने उनको भनाइ छ ।


दार्चुला भ्रमणका क्रममा मुख्यमन्त्री भट्टले सुनसेरादेखि अगाडि ७ किलोमिटर सडकको ठेक्का भएको तर, काम सुरु नगरेकोप्रति सरोकारवालालाई काम छिटो गर्न निर्देशन दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव सिं ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्