मतदातालाई मत हाल्न सिकाइदै


ओकेजनता डेस्क
२४ बैशाख २०७९, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने  भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले  चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन् ।

बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ ।

चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताए । “अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उनले भने ।

मालिका गाउँपालिकामा काँग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली (सुविन)ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन् । मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्