बडिकेदारका अध्यक्ष उम्मेदवार भक्त साउँदको लोभलाग्दो योजना


ओकेजनता डेस्क
१३ बैशाख २०७९, मंगलवार

खेम बम
काठमाडौं । डोटीको बडिकेदार गाउँपालिकामा एकीकृत समाजवादीका भक्त साउँदले उम्मेदवारी दर्ता गर्नुभएको छ । बडिकेदारको विकास र समुन्नतिमा पहरेदारी गर्ने हेतुले उम्मेदवारी दर्ता गरेको साउँदले बताउनुभयो ।

यसअघिको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका साउँद शालीन र भद्र युवा नेताको रुपमा परिचित हुनुहुन्छ । एमाले विभाजन भएसँगै नेकपा एकीकृत समाजवादी बनेपछि साउँदले पुनः गाउँपालिका अध्यक्षको टिकट पाउनुभएको हो ।

बडिकेदारमा यसपाली साउँदलाई निर्वाचित गर्नेमा लगभग पक्का भएको त्यहाँका जनता बताउँछन् । गाउँको विकासमा सहयोग गर्दै आएका नेता साउँद संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयमा काम गरिसकेका व्यक्ति हुन ।

बडिकेदारमा पनि धार्मिक पर्यटनको प्रचुर सम्भावना भएकोले अबको कार्यदीशा त्यतापट्टी हुनुपर्ने साउँदको बुझाई छ । डोटीको प्रमुख धार्मिक गन्तव्य बडिकेदार अझै सोचेजस्तो प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । केदारको संरक्षण र भेटी व्यवस्थापनमा अनियमितता हुने गरेका खबर सार्वजनिक भइरहँदा त्यसको व्यवस्थापन गर्नु अहिलेको चुनौति पनि हो ।

सहजपुर–बोगटान सडकखण्डमै पर्ने बडिकेदार गाउँपालिकालाई कृषिको पकेट क्षेत्र बनाउनुपर्ने साउँदको भनाइ छ । कृषि उपजहरुको संकलन र बजार व्यवस्थापन गर्नसके त्यहाँका जनताको आयआर्जनमा बृद्धि हुने भन्दै साउँदले हरेक विद्यालयमा कृषि विषयको अध्ययन हुनुपर्ने एजेण्डा अघि सार्नुभएको छ ।

विदेशिएका नागरिकलाई स्वदेशमै उद्यमशील बनाउनुपर्ने बताउँदै आएका साउँदले कृषि क्रान्तीमा जोड दिएको ओकेजनतालाई जानकारी दिनुभयो । बडिकेदारको फसलका रुपमा लिइने अदुवा र जडिबुटी उत्पादनलाई बढावा दिँदै बजार व्यवस्थापन गर्नुपर्ने उहाँको धारणा छ ।

कृषि तथा पशुपालन व्यवसायलाई थप गुणस्तरीय बनाउन किसानलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था तथा औषधिजन्य सेवाको बिस्तार गर्नुपर्ने साउँदको भनाइ छ । हरेक घरमा एकजना कृषि विषयमा अध्ययन गरेको नागरिक उत्पादन गर्ने साउँदको लक्ष्य छ । गाउँलाई सडकले मात्रै विकास गर्न सकिन्छ भन्नेमात्र नभई होमस्टे बिस्तार, कृषि पकेट क्षेत्रको बिस्तार, त्यहाँका परम्परागत संकृति, खानपिनले पनि गाउँमा पर्यटक आकर्षित गर्न सकिने साउँदको धारणा छ ।

साउँद लामो समयदेखि गैरसरकारी संस्थामा समेत आवद्ध थिए ।

 

प्रतिक्रिया दिनुहोस्