टीकापूरमा आजको उम्मेदवारी दर्ता


ओकेजनता डेस्क
१२ बैशाख २०७९, सोमबार

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनले नगर प्रमुखमा नवराज रावल र उपमेयरमा खडक शाहलाई अघि सारेको छ ।

रावल नेपाली काँग्रेसका महासमिति सदस्य हुन भने शाह नेकपा माओवादी केन्द्र टीकापुरका अध्यक्ष हुन । प्रतिपक्षी नेकपा एमालेले नगर प्रमुखमा श्याम खत्री र उपप्रमुखमा उमा केसीलाई अघि सारेको छ ।

खत्री नेकपा एमाले कैलालीका जिल्ला सचिवालय सदस्य हुन भने केसी यसअघि टीकापुर नगरपालिकाको कार्य पालिका सदस्य हुन् । हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले निवर्तमान वडाध्यक्ष रामलाल डगौरा थारुलाई नगर प्रमुखमा अघि सारेको छ भने उपप्रमुखमा उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ । थारु यसअघि टीकापुर नगरपालिका वडा नं। ७ का वडाध्यक्ष रहेका थिए ।

राप्रपा नेपालले नगर प्रमुखमा गोविन्द रिमाल र उपप्रमुखमा सरस्वती बोहरालाई अघि सारेको छ । मौलिक जरो किलो पार्टीले राजकुमार बिष्टलाई नगर प्रमुख र हिरादेवी थारुलाई उपप्रमुखमा अघि सारेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ललित थापा शिव र लोकबहादुर बुढाक्षेत्रीले नगर प्रमुख र प्रकाश खड्का र माया जैशीले उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस वीपीले उपप्रमुखमा मिना साउदलाई अघि सारेको जनाएको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार टीकापुर नगरपालिकाको आगामी नेतृत्वका लागि विभिन्न पदमा एक सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन । टीकापुर नगरपालिकामा नौ वटा वडा रहेका छन । टीकापुर नगरपालिकाको मतदाता संख्या ५२९४० रहेको छ । जसमध्ये सबैभन्दा धेरै वडा नं। १ मा २१२९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्