गायक तिमिल्सिनाको उम्मेद्वारीले गाउँनै हर्षित, यस्ता छन् प्रतिवद्धता


ओकेजनता डेस्क
११ बैशाख २०७९, आईतवार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेद्वारी दर्ताको समय तोकेको छ । यो अवधिमा निर्वाचन आचारसंहिता पालना गरेर उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी दर्ता गर्न सक्नेछन् ।

आइतबार केही स्वतन्त्र उम्मेद्वार र साना दलहरुका प्रतिनिधिहरुले आआफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । यो पटक स्थानीय तहको नेतृत्वमा यूवाहरुको पंक्ति आकर्षित देखिन्छ । अहिले विभिन्न सामाजिक कार्यमा सक्रिय व्यक्तिहरु उम्मेद्वार बन्ने लाइनमा छन् । काठमाडौंमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहदेखि अछामको पञ्चदेवल नगरपालिकामा मेयरका लागि उम्मेद्वारी दिएका गायक टंक तिमिल्सिनाको यतिबेला चर्चा छ ।

हरेक राजनीतिक दलमा पुस्तान्तरणको बहस चलिरहेका बेला युवादस्ता राजनीतिमा होमिनु सकारात्मक रहेको जानकारहरु बताउँछन् । युवा भिजनले मुलुकलाई छिटो अग्रगमनतर्फ लैजान मदत गर्ने उनीहरुको बुझाई छ । करिब एक दशक बढी सांगितिक यात्रामा होमिएका गायक टंक तिमिल्सिना यतिबेला आफ्नो थातथलो पञ्चदेवलमा छन् । गायक तिमिल्सिनालाई आफ्नो जीवन चलाउन त्यति समस्या छैन । उनी सन्तुष्ट छन् तर आफ्नै गाउँघरको अवस्था देखेर भने उनलाई पिरोलिरहन्छ ।

काठमाडौंमा राम्रै कमाई गरिरहेका र आफ्नो सांगितिक जीवनलाई उचाई दिइरहेका तिमिल्सिना किन एकाएक राजनीतिमा होमिए यो धेरैको प्रश्न छ । यहीँ प्रश्नको जवाफ लिन उनै गायक तिमिल्सिनासँग ओकेजनता डटकमले कुराकानी गरेको छ । अनौपचारिक कुराकानीमा उनले आफ्नो विकासको खाकालाई प्रस्तुत गरेका छन् । उनी पञ्चदेवललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहान्छन् ।

पञ्चदेवल आफैमा प्राकृतिक सौन्दर्यता बोकेको स्थान हो । त्यहाँका धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । पछिल्लो समय विकासका नाममा जथाभावी सडक बिस्तार गर्ने, आफै डोजर किनेर जनप्रतिनिधिहरु मोटाउने, पर्यटकीय पकेट क्षेत्रको अवधारणा नबुझ्ने, जीविकोपार्जन गर्न दिनहुँ भारत गइरहेका नागरिकहरुलाई उन्नत कृषिमा लगाउन नसक्नेलगायतका समस्याहरु पञ्चदेवलका हुन् । यी समस्याको समाधानका लागि गायक तिमिल्सिनाको उम्मेद्वारी रहेको उनले बताए ।

तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरु :

१) गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने

२) कृषि विषयको अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने, हरेक विद्यालयमा कृषि विषयको पढाई हुनेगरी तयारी थाल्ने ।
३) कृषिमा आधुनिकीकरण गर्न किसानहरुलाई सहयोग गर्ने ।

४) वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गराउने ।
५) पञ्चदेवलको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने ।

६) हरेक घरमा विद्युत बिस्तार र सडक नपुगेका स्थानमा सडक सञ्जालको विस्तार गर्ने ।
७) गाउँमा आएका गाडीहरुमा त्यहाँको उत्पादन लैजाने गरी व्यवस्था गर्ने, सबैलाई उद्यमी बनाउने ।
८) आफ्नो बिरानो नभनी प्रतिस्पर्धाका आधारमा निर्णय लिने ।

९) पुलपुलेसा, बाटोघाटो निर्माणमा सबै जनताको सहभागितामा काम गर्ने/गरमउने ।

 

प्रतिक्रिया दिनुहोस्