कांग्रेसले भन्यो– ‘प्रधानमन्त्रीले डा. के.सी.लाई कात्रो पठाउने हो ?’


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द के.सी. २४ दिनदेखि सत्याग्रहमा रहेपनि सरकाले प्रवाह नगर्दा जनविरोध सुरु भएको छ । डा. के.सी.को जीवन रक्षाको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

यता, प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि डा. के.सी.का मागप्रति सरकार उदासिन भएको आरोप लगाएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्दै– ‘डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो ?’ भनेर प्रश्न गरेको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै डा. के.सी.सँग वार्ता नगर्ने बालुवाटारको बाल हठ महँगो पर्ने चेतावनी समेत दिएको छ ।

‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा के.सी.को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अनशन सुरु गरेको २४ दिन पुग्दा पनि सरकारले वार्ता टोली समेत गठन नगरेको भन्दै कांग्रेसले शान्तिपूर्ण सत्याग्रहलाई सुन्न समेत अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको र यसले कम्युनिष्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्