ट्रम्पका नजिकका सहयोगीहरुमा कोरोना संक्रमण


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपतिका अति नजिकका सहयोगी तथा सल्लाहकारहरुमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बिस्तार भइरहेको छ ।

कोरोना भाइरसबाट आफै पनि संक्रमित भएका ट्रम्पका सल्लाहकार स्टीफन मिलर पनि संक्रमित भएको पछिल्लो पटक पुष्टि भएको हो ।

ह्वाइट हाउस सल्लाहकार मिलर पनि संक्रमित भएको पुष्टि भएसँगै ट्रम्पका अधिकांश नजिकका सहयोगी तथा सल्लाहकारहरु संक्रमणको केन्द्रमा रहेको देखिएको हो ।

विगत पाँच दिनदेखि सेल्फ–आइसोलेशनमा रहेका ट्रम्पका सल्लाहार मिलरमा संक्रमण रहेको स्थानीय समय अनुसार मंगलबार बेलुका पुष्टि भएको हो ।

अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीसहित अरु उच्च सैन्य अधिकारीहरु कोस्ट गार्ड अफिसियल एड्मिरल चार्ल्स रे मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेल्फ–क्वारेन्टिनमा बसेका छन् ।

रेसँगै गएको हप्ता बैठकमा सहभागी भएका अधिकारीहरु पनि क्वारेन्टिनमा बसेका छन् । रेमा कसरी कोरोना भाइरसको संक्रमण फैलियो भन्ने स्प्ष्ट भएको छैन । उनी १० दिनअघि ह्वाइट हाउसमा भएको कार्यक्रममा सहभागी भएका थिए ।

पछिल्लो हप्तायता ट्रम्पसहित प्रथम महिला मिलानिया ट्रम्प, उनका सहयोगी होप हिक्स, रिपब्लिकन सिनेटरहरु, ह्वाइट हाउस प्रवक्ता केली म्याकनेनी र उनको समूहका अरु तीन सदस्यसहितमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अहिले ह्वाइट हाउस कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ।

अहिलेसम्म संक्रमण पुष्टि भएकाहरु सेप्टेम्बर २६ मा सर्वोच्च अदालतका लागि ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्