जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि एमालेबाट नाम सिफारिस


ओकेजनता डेस्क
६ बैशाख २०७९, मंगलवार

काठमाडौं । जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ ।

नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।

त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् । उपप्रमुखमा भोला अधिकारी, रेनु रिमाल, अशोक लामा, कमला घिमिरे र सरिता चौधरीको नाम सिफारिस भएको छ ।

नगर कमिटीले एमाले जिल्ला अध्यक्ष विनोद साह मार्फत जिल्ला कार्य समितिलाई सिफारिस पठाएको हो । केन्द्रले उम्मेदवारको नाम सकेसम्म स्थानीय तहबाटै सहमति जुटाएर पठाउन निर्देशन दिए पनि दाबेदारहरू पछि हट्न तयार नभएपछि १० जना प्रमुख तथा ५ जना उपप्रमुखको नाम सिफारिस गरेर जिल्ला कार्यसमिति मार्फत केन्द्र पठाइसकेको अधिकारीले जनाए ।

वडाध्यक्षहरूको हकमा भने छलफलको माध्यमबाट वडा कमिटीबाटै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेर विवादरहित ढङ्गले काम भइरहेको जनाए । जीतपुर सिमराको २४ ओटा वडा मध्ये ८ वटा वडाको सोमबार साँझसम्म सहमतिमा नामावली टुंगिसकेको र बाँकी वडामा पनि मंगलबारसम्म टुङ्गो लागिसक्ने जनाइएको छ ।

‘सहमति हुन नसकेको वडामा २ जना पुरुष र १ जना महिलाको नाम सिफारिस गरेर पठाएका छौँ,’ नगर कमिटी अध्यक्ष अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्