नेपालगञ्जमा यस्तो छ गठबन्धनमा कचकच


ओकेजनता डेस्क
६ बैशाख २०७९, मंगलवार

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा ९तत्कालीन राप्रपा नेपाल० ले यहाँ आफ्नो वर्चश्व कायम राख्छ कि गुमाउँछ भन्नेमा आमचासो बढेको छ । अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए ।

उनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । यतिमात्र होइन, अहिले राप्रपा विभाजनसमेत भइसकेको छ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएको छ, जसले राप्रपाको मत काट्ने निश्चित छ ।

विगतमा नेपालगञ्ज उपमहानगरमा राप्रपाले मेयरसहित ३ वडाअध्यक्षमा जित हासिल गरेको थियो । मेयर राणा र एक वडाअध्यक्ष अहिले राप्रपामै छन् भने दुई वडाअध्यक्ष कमल थापा नेतृत्वको राप्रपा नेपालतिर लागेका छन् ।

एकातिर राप्रपा विभाजन र अर्कोतिर मेयर धवलशमशेर राणाले अर्को कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेसँगै अन्य दलले आफूहरुका लागि सहज भएको अनुभूति गरेका छन् ।

नेपालगञ्जमा सत्तारुढ गठबन्धन दलहरुबीच कचकच जारी छ । यो पालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालले आफ्नो पकड रहेको दाबी गर्दै आएका छन् । सत्तारुढ गठबन्धनभित्रकै दुई दल काँग्रेस र जसपाले मेयरमा दाबी गरेपछि सहमति जुटाउन पनि सकस देखिएको छ ।

उता, एमाले पनि गठबन्धन घटकबीच तालमेल नभएको अवस्थामा आफू जित्नेमा विश्वस्त देखिन्छ । एमाले र राप्रपा नेपालबीच तालमेल हुने निश्चित भइसकेका कारण राप्रपा नेपालको साथ पाएर पालिकामा आफ्नो वर्चश्व बढाउन सकिने एमालेको आकलन छ ।

यद्यपि राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले नेपालगञ्जको हकमा एमालेसँग तालमेलबारे प्रस्ट कुरा हुन बाँकी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्