अन्ततः जसपा र माओवादीको छुट्टै गठबन्धन


ओकेजनता डेस्क
६ बैशाख २०७९, मंगलवार

काठमाडौं । स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ ।

गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अनौपचारिक सहमति पनि गरिसकेका छन् ।

आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ ।

उक्त छलफलले मूर्त रूप लिने सङ्केत सिरहाको लहान नगरपालिकामा आइतबारै देखिएको छ । पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको छ । जसपाका नेता राकेश रोशन गुप्ताका अनुसार लहान नगरपालिकाको मेयर जसपाले लिनेछ भने उपमेयर माओवादी केन्द्रले लिनेछ । २४ वटा वडामध्ये १४ वटा जसपा र १० वटा माओवादी केन्द्रले लिने सहमति भएको नेता गुप्ताले बताए ।

यदि काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले धेरै भाव खाए यसरी जसपा र माओवादी केन्द्र अगाडि बढ्ने जसपाका नेता गुप्ताले बताए । माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज गणेश साहले पनि मधेस प्रदेशमा जसपा र माओवादी केन्द्रको निकटता बढेको स्वीकारे । उनले भने, ‘काँग्रेसले जहाँसुकै आफ्नै हुनुपर्छ भन्छ भने नेकपा एकीकृत समाजवादी पार्टीले एमाले जति आफ्नो हुनुपर्ने भन्दै आइरहेको छ, त्यसरी त गठबन्धन बन्दैन नि ।’ जहाँ जहाँ काँग्रेस र नेकपा ९एस० सँग सहमति बन्दैन, त्यहाँ त्यहाँ जसपा र माओवादी केन्द्रबीच गठबन्धन बन्ने सम्भावना रहेको उनले बताए ।

यद्यपि अहिले पनि जनकपुरमा मधेस प्रदेशको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । कहाँ कहाँ गठबन्धन गर्ने नगर्ने आज टुंगो लाग्ने साहले बताए । नेकपा ९एस० का नेता धर्मनाथ साहले मधेस प्रदेशको १३६ स्थानीय तहमध्ये २५ वटा आफूहरुले पाउनुपर्ने बताए । एमालेले जहाँ जहाँ जितेको छ, ती निकाय आफूहरुले पाउनुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए ।

मधेस प्रदेशमा गत २०७४ को स्थानीय चुनावमा काँग्रेस नै बलियो देखिएको थियो । १३६ स्थानीय तहमा ४० स्थानीय तहको प्रमुख पद तथा ३५ वटा उपप्रमुख काँग्रेस जितेको थियो ।

एक हजार २७१ वडामध्ये काँग्रेसले ३३८ वटा वडा जितेको थियो । दोस्रो स्थान तत्कालीन संघीय समाजवादी फोरम नेपाल अर्थात अहिलेको जसपाले ल्याएको थियो । सो पार्टीले २६ वटा पालिका प्रमुख तथा २५ वटा उपप्रमुख जितेको थियो । त्यस्तै १९१ वटा वडा जितेको थियो ।

मधेस प्रदेशमा तेस्रो स्थान तत्कालीन राजपा अर्थात् अहिलेको लोसपाले ल्याएको थियो । उसले २५ वटा प्रमुख, ३० वटा उपप्रमुख जितेको थियो भने १९४ वटा वडा पनि जितेको थियो । चौथो स्थान माओवादी केन्द्रले हात पारेको थियो ।

उसले मधेस प्रदेशको २१ वटा प्रमुख, २४ वटा उपप्रमुख जितेको थियो भने २३१ वटा वडा पनि जितेको थियो । नेकपा एमाले पाँचौ स्थानमा थियो । उसले १८ वटा स्थानीय तहमा प्रमुख र १९ उपप्रमुख जितेको थियो । त्यस्तै, २३० वटा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्