नाबालिकाको बयान फेरिएसंगै यस्तो हुँदैछ…


ओकेजनता डेस्क
५ बैशाख २०७९, सोमबार

काठमाडौं । अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी लिएर प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छिन् ।

अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् ।

पीडित नाबालिगको तर्फबाट मुद्दा लडिरहेकी एक अधिवक्ताका अनुसार पीडित बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा होस्टाइल बयान दिएकी छिन् ।

प्रहरी कार्यालयमा जाहेरी दिने समय र सरकारी वकिल सामुन्ने लिइएको बयानमा पीडित बालिकाले आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् ।

तर आइतबार अदालतमा बयान गर्ने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जाहेरी दिएको बकपत्र गरेकी छिन् । उनको होस्टाइल बकपत्र लगत्तै पल शाह प्रकरणमा ट्वीस्ट आएको छ ।

नाबालिगको तर्फबाट कानुनी सहायता दिइरहेकी एक अधिवक्ताका अनुसार जाहेरवाला रहेका पीडित नाबालिगका बुवाले पनि होस्टाइल बकपत्र गरेका छन् । उनले पनि नाबालिगले जस्तै जबरजस्ती करणी नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका छन् ।

पीडित नाबालिग र नाबालिगको तर्फबाट जाहेरी दिएका उनका बुवाको होस्टाइल बकपत्रसँगै अभिनेता पल शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ ।

मुख्यतः तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना बढी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्