कवि शुभ श्रेष्ठ : शहीद गंगालालकी बुहारी


ओकेजनता डेस्क
२३ भाद्र २०७७, मंगलवार

काठमाडौं । कवयित्री शुभ श्रेष्ठको अवशानको खबर साहित्यकार वनमाली निराकारले सामाजिक सञ्जालमा राख्नेबित्तिकै म झस्किएँ । त्यो दिन थियो, २०७७ भदौ २ गते दिउँसो । उनी त्यसैदिन बिहान ९ बजे दिवङ्गत भएको थाहा लाग्यो ।

कोरोनाको कारण बन्दाबन्दी र निषेधाज्ञाले कक्रक्क परेको काठमाडौंमा उनलाई श्रद्धार्पण गर्न न साहित्यकारलाई सहज थियो, न आफन्तलाई नै । जीवनको लामो कालखण्ड ‘मधुमेह’सँग जुध्दै आएकी उनी दुवै मृगौलाले काम गर्न छाडेपछि पछिल्लो समय, हप्ताको दुईपल्ट डायलासिस गर्दै जीवन धानिरहेकी थिइन् ।

मैले शुभ श्रेष्ठलाई पहिलोपल्ट चार दशकअघि पोखरामा सम्पन्न पोखरेली पुवा साहित्यिक परिवारले आयोजना गरेको ‘टिकटमा मुक्तक कार्यक्रम’मा भेटेको थिएँ । उनी पाल्पाको प्रतिनिधित्व गर्दै तानसेन, पाल्पाबाट आएकी थिइन्, मकवानपुरको प्रतिनिधित्व गर्दै म काठमाडौंबाट गएको थिएँ । पहिलो भेटमै मेरो मनमा उनको यस्तो स्केच बनेको थियो(सरल, शान्त, थोरै र मीठो बोल्ने मायालु दिदी ।

औपचारिक साहित्यिक कार्यक्रम सकिएपछि पोखरेली साहित्यकारहरू तीर्थ श्रेष्ठ, उषा भट्टचन (त्यतिखेर उनी भट्टचन लेख्थिन्) आदिले वेगनास र रुपा ताल घुमाउने कार्यक्रम बनाए । हामी बेगनास तालको मुखबाट ढुङ्गा चढेर डाँडाको नाकसम्म पुग्यौं । डाँडाको नाक भन्नाले वेगनास ताल र रुपा तालबीचको सानो डाँडा । जहाँबाट दुवै ताल एकसाथ हेर्न सकिन्छ । दुई ताललाई पहाडले छुट्याएको छ । त्यहाँ लोकल माछा र कोदोको झोल पनि पाइने रहेछ । हामी दुईचार जनाले त्यसको पनि स्वाद लिने काम त्यहीँको छाप्रोमा सुटुक्क गएर पूरा गरेका थियौं ।

अचानक भुलभुल गर्दै डुङ्गामा पानी पस्न थाल्यो । डुङ्गाको पिँधको मक्किएको फलेकको एउटा चोइटा निस्केपछि पानी डुङ्गामा छिरेको थियो । साह्रै आत्तिएर अञ्जुलीले पानी उभाउँदै फाल्नेमा उषा र शुभ दुई चेलीहरू नै थिए
पुनः हाम्रो टोली डुङ्गामा र्फकन थालेको थियो । आधा ताल जलकुम्भीले ढाकेको थियो । दाह्री पालेका हामी सबैका दाइ तुलसी दिवस आकर्षणका केन्द्र थिए र उनका देश(विदेशका अनुभव सुन्दै, सुसेल्दै, गीत गाउँदै हामी र्फकँदै थियौं । तर अचानक भुलभुल गर्दै डुङ्गामा पानी पस्न थाल्यो । डुङ्गाको पिँधको मक्किएको फलेकको एउटा चोइटा निस्केपछि पानी डुङ्गामा छिरेको थियो र साह्रै आँत्तिएर अञ्जुलीले पानी उवाउँदै फाल्नेमा उषा र शुभ दुई चेलीहरू नै थिए । एक पोखरेली र अर्की पाल्पाली ।

पछि आफ्नो जागिरको कामको सिलसिलामा पाल्पा जाँदा पनि शुभसँग भेट भयो । उनले माथि डाँडासम्म घुमाउन लगेकी थिएन् । हामीले पोखराको सम्झना गरेका थियौं । जुनसुकै ठाउँ जुनसुकै कारणले पुग्दा पनि त्यहाँका साहित्यकारसँग भेट्नु मेरो नियमित कर्म थियो र अझै पनि छ । पाल्पामा भेट्नुपर्नेमा वनमाली निराकार, विनयकुमार कसजु, विजय उदय पाल्पाली, शुभ श्रेष्ठ थिइन् ।

गोरो अनुहारमा लुकेको शालीनता र गम्भीरता, मसिनो र मधुर बोली शुभ श्रेष्ठका गहना नै थिए । कविता वाचनका क्रममा पनि त्यो स्वभावको झल्को जोकोहीले पाउन सक्थ्यो । पाल्पाको रमणीय डाँडामा विचरण गर्दै उनी कविता सिर्जना गर्थिन् र पाल्पालाई प्रतिनिधित्व गर्दै कवि सम्मेलनहरूमा पुग्थिन् । धेरैजसो पोखराका कार्यक्रममा उनी हम्मेसी छुट्दैन् थिइन् वा पोखरेलीहरू छुटाउन चाहँदैनथे । जुनसुकै कारणले होस्, उनी पोखराका साहित्यिक कार्यक्रममा बाक्लै उपस्थित हुन्थिन् ।

पछि उनी पाल्पा छाडेर काठमाडौं आइन्, उच्चशिक्षाका लागि । साथै ‘सेडा’मा जागिर पनि खान थालिन् । अनि काठमाडौंका साहित्यिक गतिविधिमा उनको उपस्थिति देखिन थाल्यो । काठमाडौं आउँदा पनि उनको आफ्नो स्वभावमा परिवर्तन आएन । उस्तै शालीन, गम्भीर अनि सरल । मधुरो बोली । कहिलेकाहीँ त कविता वाचनमा उनको कविता राम्रोसँग सुन्न पनि धौधौ हुने ।

यौटा कुरा भने अनुत्तरित थियो शुभ श्रेष्ठको बारेमा । उनको विवाह भएको थिएन र उमेर क्रमशः घर्किंदै गएको थियो । एकाधपल्ट बिहा हुने भन्ने पनि सुनियो । फेरि नहुने भयो रे भन्ने पनि सुनियो । उनलाई सुगरले सताएको थियो र भनिन्थ्यो उनको बिहाको लागि सुगर रोग तगारो भइदियो । आफूले मान्यवर दिदी मानेको हुनाले उनीसँग यस विषयमा न कहिल्यै कुरा भयो, न त्यस्तो संयोग नै जुर्यो । तर उनको बिहा भएको थिएन । उनको रूप, स्वरूप, स्वभाव यथावत् नै रहिरहृयो ।

२०४३ सालमा उनको पहिलो पुस्तक ‘मेरो छानामाथिको नीलो आकाश’ कवितासंग्रह प्रकाशित भयो । तिनताक अविनाश श्रेष्ठ असमबाट एमएका लागि काठमाडौं आएका थिए र नेपाली साहित्य परिषद असमको अध्यक्ष थिए । उनी साहित्य लेखनमात्र होइन साहित्यिक गतिविधिमा पनि निकै सक्रिय थिए । परिषदको मुखपत्र ‘परिषदपत्र’को भव्य प्रकाशन तथा विभिन्न साहित्यकारका साहित्यिक कृतिहरू पनि साहित्य परिषद असमको ब्यानरबाट प्रकाशित गरेका थिए । त्यस्ता प्रकाशनमा असम क्षेत्रका मात्र नभई नेपालका साहित्यकारका पुस्तक पनि थिए । शुभ श्रेष्ठको कविता पनि त्यही सिलसिलामा अविनाश श्रेष्ठको माध्यमबाट प्रकाशित भएको थियो ।

शुभ ‘सेडा’मा काम गर्ने हुनाले सेडामै काम गर्ने साहित्यकार तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्मासँग स्वाभाविक साहित्यिक निकटता थियो । यस संग्रहका कविताहरू नगेन्ऽराज शर्माले शुद्धाशुद्धी हेरेर सहयोग गरेका थिए भने कवि मञ्जुलले उनका कविता सिर्जनामध्येबाट किताबका लागि कविता चयन गरेर सहयोग गरेका थिए ।

यस संग्रहमा उनका मझौला र साना आकारका ५१ कविता सङ्कलित छन् । यो संग्र्रहको प्रकाशनले उनलाई थप कविता लेखनमा उत्साहको सञ्चार गरिदियो । उनी कविता लेखनमा सुस्त गतिमा तर निरन्तर लागिरहिन् र उपन्यास लेखनमा पनि आफूलाई अघि बढाइन् ।

उनले आफ्नो जन्मथलो पाल्पालाई ‘तानसेन’ शीर्षकमा यसरी चित्रण गरेकी छिन् –

मेरो तानसेन

तिमीलाई आँखामा

प्रतिबिम्बित गरेको छु

सपनामा सुम्सुम्याएकी छु

विपनामा रोएकी छु

सम्झिन्छौ होला तिमीले

छोरा(छोरीले बिर्सिए भनेर

तर‘यो जन्ममा होइन

अर्को जन्ममा पनि

म तिम्रै काखमा

जन्म लिने आशा राख्दछु ।

शुभ श्रेष्ठको जीवनमा एकदिन त्यस्तो क्षण पनि आयो, उनको सिउँदो सजियो । दुलही भइन् । उनको औपचारिक रुपमै बिहा भयो । विवाह शहीद गंगालालका काईंला भाइ देवीलाल श्रेष्ठसँग भयो उनको । ढिलो गरी उनले दाम्पत्य जीवनमा प्रवेश पाइन् । देवीलाल श्रेष्ठको श्रीमतीको देहान्तपछि एक्लो भएका थिए । तीन छोरी र एकमात्र छोराको बिहावारीसमेत भैसकेको थियो ।

यसैबीच उनले शुभ श्रेष्ठलाई मन पराए । अनि विवाह भएको थियो । बिहापछिका दिन देवीलाल र शुभ दुवैका लागि सुखद, अविस्मरणीय र सौभाग्यशाली बनेका थिए । उनीहरूले बिहापछि विभिन्न स्थानको यात्रा पनि गरे । यस्तो लाग्थ्यो उनीहरू तरुणवयका नवविवाहित हुन् । हुन पनि पहिलो पत्नीको देहान्तपछि एक्लिएका, नियास्रिएका, निराशिएका देवीलालले पत्नी पाएका थिए । शुभ श्रेष्ठले ढिलो भए पनि दाम्पत्य जीवन पाएकी थिइन् र पुलकित भएकी थिइन् । त्यसमाथि अमर शहिद गंगालालको परिवारसँग उनको वैवाहिक नाता गाँसिएको थियो ।

देवीलाल श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिएका थिए र उनी पनि साहित्यमा कलम चलाउन थालेका थिए । उनी राष्ट्रपिता त्रिभुवन बारेमा चलचित्र बनाउन चाहन्थे । त्यसका लागि उनले पटकथा र संवाद पनि लेखेका थिए र त्यसको पुस्तकसमेत प्रकाशित गरेका थिए ।

यता शुभ आफू कवयित्री, उता श्रीमान पनि लेखनमा लागेकाले उनलाई दोब्बर खुशी प्राप्त भएको थियो । त्यसो त शुभ श्रेष्ठका दाइ रामप्रसाद श्रेष्ठ पनि नेपाली साहित्यमा कथाकारका रुपमा परिचित थिए । उनको यौटा कथा सङ्ग्रह प्रकाशित भएको थियो । देवीलालकी जेठी छोरी ईरोज श्रेष्ठ पनि कविता लेख्ने गर्थिन् । एक प्रकारले साहित्य र साहित्यिक वातावरणले शुभ श्रेष्ठलाई झन् उत्साह र उमङ्ग थपिएको महसुस गर्थिन् । तर नियतिको खेल, शुभ श्रेष्ठलाई ढिलो गरी प्राप्त दाम्पत्य सुख लामो समय जुरेन । देवीलालको असामयिक निधनपछि उनी फेरि एक्कासी कहालीलाग्दो एक्लोपनमा पछारिन पुगिन् ।

सौतेनी मामलो हाम्रो समाजमा सहज कुरा होइन । त्यसलाई सन्तुलन मिलाउन आकाशको तारा खसाल्नुजत्तिकै दुरुह कुरा हो । यसका अनगिन्ती पक्षहरु हुन्छन् । शुभ फेरि वैभवशाली अवस्थावाट नितान्त एक्लो हुन पुगिन् । उनलाई साथ दिने अक्षरमात्र शेष रहृयो, मनको गुम्फनको निकास दिने कवितामात्र भयो । कविताले मानवीय संवेदनालाई अभिव्यक्ति दिने भए पनि मानिसको सुखदुःखको भारी, कविको भारी त बोक्न सक्दैन, त्यो पनि उत्तिकै कटु सत्य हो । पछिल्लोपल्ट उनीसँग मेरो भेट काठमाडौंको एक साहित्यिक कार्यक्रममा भएको थियो । सधैंझै उनले आफ्नो निवासमा आउन निम्तो गरेकी थिइन्, ‘भाइ आऊ न एकपल्ट घरमा !’

मैले हुन्छ त भनें, कसोकसो जाने संयोग जुरेन । बरु उनको फोटोचाहिँ लिएँ । त्यो भेट नै मेरो लागि उनीसँगको अन्तिम भेट भयो । त्यो फोटो नै उनीसँगको अन्तिम भेटको सम्झाउनी(बिर्साउनी हुन पुग्यो । उनका दोस्रो कवितासंग्रह पनि प्रकाशित भयो, उपन्यास पनि प्रकाशित भयो । तर उनी मूलधारका साहित्यिक पत्रिकाको नजरमा परिनन् । साझा प्रकाशन, एकेडेमीका प्रतिनिधि सङ्कलनमा उनको उपस्थिति भएन । चर्चा र पुरस्कारबाट पनि उनी टाढा नै रहिन् । त्यसका लागि चाहिने समूह र अभियन्ता उनका पछि थिएनन् । उनको विश्वास सृर्जनामा थियो, सिर्जना सुखमा थियो ।

कवयित्री शुभ श्रेष्ठको सुगरकै कारण दुवै मृगौला क्षतिग्रस्त भयो । एक्लो जीवन र सहाराको अभाव उनको नियति बन्यो । हप्तामा दुईपल्ट डायलासिस गर्नुपर्ने अवस्था चरम दुःखदायी थियो । अन्ततः त्यसैले उनको इहलीला समाप्त गरिदियो । अक्षरको पुजारी कवयित्री शुभ श्रेष्ठ अक्षरमै रमाएकी थिइन्, अब अक्षरमै बाँच्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्