सिंगो प्रदेशमा एक्ली पालिका प्रमुखको कमाल


ओकेजनता डेस्क
२४ फाल्गुन २०७८, मंगलवार

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् ।

गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वकाे रुपमा स्थापित गरेकी छिन् । उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाकाे नेतृत्व गरेकी थिइन् । बाँकी १०८ पालिकाको नेतृत्वमा भने पुरूषनै छन् ।

कानुन निर्माणमा पहिलाे

कुमारीले नेतृत्व गरेकाे गाउँपालिकाले सिंगाे प्रदेशमा सबैभन्दा पहिले कानुन निर्माण गरेकाे थियाे । साथै विकास निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने पहिलाे पालिका पनि यही थियाे । ‘अहिले पनि महिलाको काम र क्षमतालाई नपत्याउने प्रवृत्ति छ,’ उनले भनिन् । साढे चार वर्ष आफ्ना लागि नयाँ भए पनि क्षमता विकासमा सघाउ पुर्‍याएको उनको भनाइ छ ।

सिस्ने गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी बिमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्रहालय, सहिद स्मारक पार्क, हिंसापीडित महिलाका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सन्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।

हिंसामा परेका महिलाका लागि वडा नम्बर ५ मा सेफ हाउस (सुरक्षित आवासगृह) निर्माण गरेको उनले बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाइ लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सन्चालन गरिरहेका छौँ,’ उनले भनिन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेले विमला अर्याललाई उठाएको थियो भने कपिलवस्तुको बाँणगंगा नगरपालिकाको मेयरमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको थियो ।

यस्तै, रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रूकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई एमालेले उम्मेदवार बनाएको थियो । तर, एमालेले उम्मेदवार बनाएको कुनै पनि महिलाले प्रमुखमा चुनाव जितेनन् । कांग्रेसले भने १०९ स्थानीय तहमध्ये अन्यमा महिलालाई प्रमुख पदमा उम्मेदवार उठाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्